पोखरा । सोमवार सर्बोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतलाई अवैधानिक ठहर गरेसंगै पुन: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा ठुलो दलको हैसियतले काङ्ग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुने भएका छन्।
सोमवार न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै बदर हुने फैसला गरेको हो ।
अदालतले ६० सदस्यीय प्रदेशसभामा अधिकारीले पाएको ३० मत बहुमत नभएको ठहर गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री अधिकारी आदेशपछि पदमुक्त भएका हुन् ।सर्वाेच्चले अब संविधानको धारा १६८ को उपधारा (२)बमोजिम अर्थात् सदनको सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न भनेको हो ।
यसअघि केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा दिएका थिए ।
सोमबारको आदेशमा सर्वाेच्चले समय नै तोकेर मुख्यमन्त्री नियुक्त गर्न भनेको छ । प्रदेश प्रमुख र सभामुख फरक दलबाट रहेको अवस्थामा अदालतको यस्तो आदेशले गण्डकीमा पाण्डेलाई मुख्यमन्त्री नियुक्तिको सहज बाटो खोलिदिएको छ ।
अदालतले विश्वासको मत लिँदा संविधानको धारा १ सय ८६ नभई संविधानको धारा १ सय ८८ लाई नै टेकेर फैसला हुनुपर्ने स्पष्ट आदेश गरेको छ । “मुख्यमन्त्री माननीय खगराज अधिकारीले पेश गर्नुभएको विश्वासको मत बहुमतले पास भएको भनी गण्डकी प्रदेशसभाका सभामुखबाट मिति २०८१ वैशाख २३ गते भएको घोषणा उत्प्रेषणको आदेशले बदर गरिदिएको छ,” आदेशमा भनिएको छ, “प्रस्तुत आदेश प्राप्त भएको ४८ घन्टाभित्र नेपालको संविधानको धारा १६८को उपधारा (३) बमोजिमको प्रक्रियाबाट मुख्यमन्त्री नियुक्तिको कार्य सम्पन्न गर्नू भनी प्रत्यर्थी गण्डकी प्रदेशका प्रदेश प्रमुखसमेतका नाउँमा परमादेशको आदेश जारी गरिदिएको छ ।”
वैशाख २३ गते सभामुख कृष्ण धितालले नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात, स्वतन्त्र एक गरी ३० सांसदको समर्थन पाएका अधिकारीको पक्षमा बहुमत पुगेको घोषणा गरेका थिए।
चैत २४ गते मुख्यमन्त्री नियुक्त अधिकारीले पाएको विश्वासको मतविरुद्ध कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे अदालत गएका थिए । गण्डकी प्रदेशसभामा २७ सिट रहेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । कांग्रेसलाई बहुमत पु¥याउन राप्रपा र एक स्वतन्त्र सांसदको समर्थनले पनि पुग्दैन ।
राप्रपा र स्वतन्त्रको समर्थन पाउँदा पाण्डेको पक्षमा ३० सांसद हुने देखिन्छ। पाण्डे नेतृत्वमा सरकार बनेमा पनि त्यसले विश्वासको मत पाउने अवस्था देखिँदैन । गण्डकीका पूर्वमुख्यमन्त्री समेत रहेको नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले वैशाख २५ मा रिट दायरगरेका थिए । वैशाख २८ गते सवोर्च्च अदालतले कारण देखाऊ अल्पकालीन अन्तरिम आदेश जारी गर्दै गण्डकी सकारलाई दीर्घकालीन असर गर्ने काम नगर्न आदेश दिएको थियो ।