काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टी बनाउनको लागि एकजुट भएर लाग्नु पर्ने बताउनुभएको छ ।
नेकपा एमाले रामेछाप स्कुल विभागले सोमबार मन्थलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै ढकालले कुरा काटेर पार्टी नबन्ने बताउनुभयो । ‘पार्टीमा एक खाले नेताहरू काम गर्ने तर रिपोर्ट त्यति नगर्ने हुनुहुन्छ, एक थरी काम नगर्ने अर्कोको रिपोर्ट मात्रै गर्ने र कुरा काट्ने मात्र हुनुहुन्छ, कुरा काट्नेबाट पार्टी बन्दैन’, उहाँले भन्नुभयो ।
उहाँले एमाले नेतृत्व एउटा अर्काको विरुद्ध लाग्नु नहुने बताउनुभयो । पार्टी भित्र अस्वस्थ प्रतिस्पर्धा गरेर पार्टी नबन्ने ढकालले धारणा राख्नु भयो ।
एमालेले नेता कार्यकर्ताले उज्यालोदेखि उज्यालोसम्म मात्रै काम गरेर नपुग्ने उहाँले बताउनुभयो । एमालेका नेता कार्यकर्ताले रातदिन नभनी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘ उज्यालोमा मात्र काम गरेर एमाले बन्दैन, क्षणिक आनन्दले एमाले बन्दैन’, उहाँले भन्नुभयो ।
जनसंगठन बिनाको पार्टीको कल्पना समेत गर्न नसकिने उहाँले बताउनुभयो । जनसंगठन हरेक कुरामा उभार ल्याउने जनसंगठन भएकाले जनसंगठनलाई बलियो बनाउँदा मात्र राजनीतिक आन्दोलनलाई बलियो बनाउने ढकालले प्रष्ट पार्नुभयो ।