ठगी गरेको आरोपमा कानून व्यवसायी थापाबिरुद्ध पक्राउ पुर्जी

काठमाडौं । भूतपूर्व गोर्खा सैनिकलाई बेलायतको आवासीय भिषाको लागि कानुनी सेवा उपलब्ध गराउने नाममा ठगी गरेको आरोपमा बेलायतमा रहेका कानून ब्यवसायी राजु थापाबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बेलायतको लण्डनस्थित ब्रोडवे इलिङस्थित सेन्ट्रल च्याम्बरमा कार्यालयमा एभरेष्ट ल सोलिसिटर्स नामक कम्पनी सञ्चालन गर्दै आएका थापाबिरुद्ध काठमाडौं जिल्ला अदालतले ठगी आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।

भिषा लगाइदिने नाममा करोडौं ठगी गरेपछि थापालाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले पुर्जी जारी गरेको हो । जिल्ला अदालत काठमाडौंले बेलायतमा बसेर ठगी गर्ने राजुसँगै उनका नेपाली साझेदार समी काछी रोजी श्रेष्ठबिरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

‘फरार प्रतिवादीहरु राजु थापा र समी काछी रोजी श्रेष्ठका नाममा मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४ को दफा ५७ कमोजिम पक्राउ पुर्जी जारी गरी पक्राउ परी आए वा आफै हाजिर हुन आए बयानका लागि इजलाशसमक्ष पेश गर्नु, पक्राउ परी नआए वा म्यादभित्र आफै हाजिर हुन पनि नआए ऐ. संहिताको दफा १५ र ६५ बमोजिमका निजका बिवरण जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत झिकाई रोक्का राखी नियमानुसार गरी पेश गर्नु,’ जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पुर्जीमा भनिएको छ । अदालतले फागुन २ गते थापा र श्रेष्ठको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

नेपालमा रहेका बिचौलिया लगाएर भूतपूर्व गोर्खा सैनिक सूर्यकुमार नेम्वाङलाई पक्राउ गराएपछि आफ्नै ठगी धन्दाको पर्दाफास भएको हो । पाँचथरको फिदिम नगरपालिका–४ निवासी नेम्वाङलाई केही समयअघि प्रहरीले पक्राउ गरी अदालतमा पेश गर्दा दोषी ठहर हुने अवस्था नरहेको र ठगीमा थापासहितका ब्यक्तिहरु संलग्न रहेको ठहरसहित रिहा गरेको छ । ठगीमा दोषी नदेखिएको भन्दै नेम्वाङलाई रिहा गरेसँगै अदालतले भूतपूर्व गोर्खा सैनिकहरुलाई बेलायतको आवासीय भिषाको लागि कानुनी सेवा उपलब्ध गराउने नाममा थापा र नेपाली साझेदार श्रेष्ठबिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

बेलायतको लण्डनमा बस्दै आएका नेम्वाङलाई थापाले नै पक्राउ गर्न लगाएकाे थियो । लण्डनमा बसेर आफ्नो ल फर्ममार्फत केस दर्ता गर्ने शुल्क लिएर पनि थापाले कुनै पक्रिया अघि नबढाउँदा झण्डै ५ सय जना पीडित बनेका छन ।

यस्तै थापाले पूर्व गोर्खा सैनिक सूर्य नेम्वाङको नाममा किर्ते गर्दै रकम असुली गर्दै आएको तथ्यसमेत भेटिएको छ । अदालतले आफ्नै ल फर्ममा काम दिएर नेम्वाङको नाममा भूतपूर्व गोर्खा सैनिकका सन्तानहरुलाई बेलायतको आवासीय भिषाको लागि कानुनी सेवा उपलब्ध गराउने भन्दै रकम असुली गर्ने तर नेम्वाङलाई जानकारी नै नगराई केस हराउने गरेको हो । उनलाई यो ठगी धन्दामा नेपालमा रहेका श्रेष्ठ र अर्का बिचौलिया दिपक मास्केले सहयोग गर्दै आएका छन् ।

थापाले भूतपूर्व गोर्खा सैनिक नेम्वाङको नाममा थुप्रै जनासँग रकम उठाएको पाइएको छ । बेलायतको नयाँ कानून अनुसार आवासीय भिषाको लागि कानुनी सेवा उपलब्ध गराउने भन्दै थापाले नेम्वाङको नाममा परिवारका सदस्यसँग रकम उठाएको पाइएको हो ।

adb bank long