काठमाडौ । कोभिडको नयाँ भेरियन्ट ‘जेएन.१’ भारतमा पुष्टि भइसकेको छ । तर नेपालमा भने अहिलेसम्म यसको संक्रमण पुष्टि भइसकेको छैन । यद्यपि कोभिड-१९ को संक्रमणका केसहरु भने छिटपुट देखिरहेका छन् । डब्लूएचओले जोखिममा रहेका व्यक्तिहरुले कोभिड-१९ र इन्फ्लुएन्जा विरुद्धको खोप लगाउनु उपयुक्त हुने जनाएको छ ।
‘कोभिड-१९ भाइरस विश्वव्यापी रुपमा फैलिइरहेको छ । अध्ययन अनुसार यसको नयाँ भेरियन्टको ‘जेएन.१’बाट जोखिम कम हुने आंकलन छ । तर संक्रमणबाट बच्नका लागि नियमित निगरानी र सतर्कता अपनाउन आवश्यक छ,’ डब्लूएचओका दक्षिण-पूर्वी एसिया क्षेत्रीय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले भनेका छन् ।
कोभिड-१९ र यसको नयाँ भेरियन्ट ‘जेएन.१’ तथा इन्फ्लुयन्जाको संक्रमण बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सतर्कता अपनाउन आग्रह गरेको छ । दक्षिण पूर्वी एसियाली देशहरुमा यसको संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरु बढिरहेको भन्दै डब्लूएचओले त्यस्तो संक्रमणबारे सजग रहन र सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेको हो ।