को होलान् सर्बोच्च अदालतको मुख्य रजिस्ट्रार , को-को छन् दावेदार ?

Telecom

काठमाडौ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिश भएका छन् ।

न्यायपरिषद्को आइतवार बसेको बैठकले कुँवरलाई न्यायाधीश बनाउने निर्णय गरेको हो । सर्वोच्चकै रजिस्ट्रार निर्मला पौडेल भट्टराई उच्च अदालत पोखराको न्यायाधीशमा सिफारिश भएकी छन् ।

मुख्य रजिस्ट्रार कुँवर न्यायाधीश नियुक्त भएपछि उनको ठाउँमा को आउलान् त भन्दै अदालत परिसरमा चर्चा हुन थालेको छ ।

हालका विशिष्ट श्रेणीका अधिकृतहरूमा देवेन्द्रप्रसाद ढकाल सबैभन्दा अगाडि छन्। उनी हाल न्यायपरिषद्का सचिव छन्। मुख्य रजिस्ट्रारमा उनकै सम्भावना प्रबल देखिएको छ।

यदि उनी मुख्य रजिस्ट्रार नभएमा आउँदो माघ २१ बाट न्याय सेवाबाटै अवकाश पाउनेछन्। विशिष्ट श्रेणीमा ५ वर्षे पदावधिको हद लाग्छ। २०७५ माघ २१ मा उनी सचिवमा बढुवा भएका हुन्।

हाल रजिस्ट्रार पदमा रहेका नारायणप्रसाद पन्थीलाई न्यायाधीश बनाएर उच्च अदालत पठाउने विषय न्यायपरिषद्को छलफलमा छ। उनको ५ वर्षे पदावधि आउँदो वैशाख १७ गते मात्र पूरा हुनेछ। त्यसअघि नै उनी न्यायाधीश नियुक्त हुन सक्नेछन्।दाबेदार व्यक्तिहरुलाई उच्च अदालतको न्यायाधीश बनाइएमा उनीहरुपछि वरियताक्रममा रहेकाहरुले अवसर पाउनेछन् ।

रजिस्ट्रार पदमा भने हालका सहरजिस्ट्रार विमल पौडेल पहिलो दाबेदार हुन्। अदालतका प्रथम श्रेणीका अधिकृतहरूको वरीयतामा उनी सबैभन्दा अगाडि छन्। त्यसपछि नेत्रप्रकाश आचार्य छन्।

सर्वोच्चमा २ जना रजिस्ट्रार हुने भएकाले पौडेलपछि आचार्यको पनि पालो आउनेछ।

दाबेदार व्यक्तिहरुलाई उच्च अदालतको न्यायाधीश बनाइएमा उनीहरुपछि वरियताक्रममा रहेकाहरुले अवसर पाउनेछन् ।

अहिले सहसचिवहरुमध्ये विमल पौडेल, नेत्रप्रकाश आचार्य, हरिराज कार्की, यमबहादुर बुढामगर, भद्रकाली पोखरेल, मानबहादुर कार्की वरिष्ठता क्रममा छन् । यिनीहरु मध्येबाटै दुईजना रजिष्टारमा बढुवा हुने सम्भावना रहेको न्याय सेवा आयोग स्रोतले बतायो ।

न्याय सेवामा रहेर विशिष्ट श्रेणीको पदाधिकारीलाई मुख्यरजिष्ट्रार बनाउने व्यवस्था रहेपनि न्याय प्रशासन समूहबाटै मुख्यरजिष्ट्रार नियुक्त गर्ने प्रचलन छ । सर्वोच्च अदालतमा मुख्यसचिव सरहको एक मुख्यरजिष्ट्रार र सचिव सरहका दुई रजिष्ट्रारको दरबन्दी छ । न्यायपरिषदको सचिवालयमा न्यायप्रशासन समूहकै विशिष्ट श्रेणीबाट एक सचिव रहन्छन् ।

adb bank long