काठमाडौं । २०२६ सालमा स्थापित खगेन्द्र नवजिवन केन्द्रमा रहेका नेपाल अपाङ्ग संघका पदाधिकारी, खगेन्द्र नवजिवन केन्द्रमा आश्रय लिएर बस्दै आइरहेका अपाङ्गता भएका व्यक्तिहरु र नेपाल अपाङ्ग संघबीच विवाद उत्पन्न भएको छ । विवाद बढ्दै गएपछि आन्दोलन गर्दै आएका समुहले नेपाल अपाङ्ग सघ र त्यहाँ सञ्चालित क्यान्टिनमा तालाबन्दी सम्म गरेका थिए ।
अपाङ्ग सघका अध्यक्ष साम्देन लामा र क्यन्टिन सञ्चालिका उषा ओलीको मिले मतोमा संघको रकम हिना मिना भएको भन्दै नवजिवन केन्द्रमा बस्दै आएका अपाङ्गता भएका ब्यक्तिहरु आन्दोलनमा उत्रीन बाध्य भएको आन्दोलनका संयोजक बिदुर थापा बताउनुहुन्छ ।
संघको सम्पूर्ण हिसाब किताब पार्दर्शी भएको हुँदा आवश्यक परेको खण्डमा सम्पूर्ण हिसाब सार्वजनिक गरिने नेपाल अपाङ्ग संघका अध्यक्ष साम्देन लामा दाबी गर्नुहुन्छ ।
खगेन्द्र नवजिवन केन्द्र हातामा सञ्चालित क्यान्टिनको सम्झौता २०८१ असार मसान्तसम्म भएको हुँदा क्यान्टिन सञ्चालनमा रोक नलगाउन उच्च अदालत पाटनले समेत अन्तरिम आदेश दिइसकेको छ।
५८ रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रमा हाल नेपाल सरकारबाट सिफारिसमा बस्दै आएका ५३ जना र नेपाल अपाङ्ग संघको मातहतमा ५० जनागरी १ सय ३ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् ।
सरकारको सिफारिसमा बस्दै आएका अपाङ्गता भएका व्यक्तिहरुको हेरबिचारको लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले वार्षिक १ करोड रुपैयाँ रकम उपलब्ध गराउँदै आएको छ ।
नेपाल अपाङ्ग संघको सकृयतामा लायन्स क्लबको ५० प्रतिशत, गोकर्णेश्वर नगरपालिकाको २५ प्रतिशत र नेपाल अपाङ्ग सघको २५ प्रतिशत आर्थिक सहयोगमा भान्छा घर तथा खाना खस्ने हलको निर्माण भैरहेको छ ।
यसैगरि अपाङ्ग संघको मातहतमा बस्दै आएका व्यक्तिहरुको लागि खर्च अपाङ्ग संघले नै जुटाउँदै आइरहेको छ भने उनीहरुको उपचारको लागि खगेन्द्र नवजिवन केन्द्र हाता भित्र अर्थोपेडिक अस्पताल र पठनपाठनका लागि विद्यालयको समेत व्यवस्था गरिएको छ ।