पोखरा । रास्वपा अध्यक्ष रवि लामिछानेले एक/दुईवटा आक्रमण र मुद्दाबाट आफू विचलित नहुने जनाएका छन् । शनिबार पोखराको अमरसिंह चोकमा भएको सभामा उनीमाथि मकैको खोया प्रहारपछि लामिछानेले यो अहिलेको नेतृत्वविरुद्ध जनताको वितृष्णाको उपज भएको टिप्पणी गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि शनिबार पोखरामा मकैको खोया प्रहार भएको हो।
सभापति लामिछाने शनिबार पोखराको अमरसिंह चोकको खेलमैदानमा सभालाई सम्बोधन गरिरहेका थिए। उनी बोल्दै गर्दा सभामा सहभागी हूटिङ गरिरहेका थिए। कतिपय ताली बजाइरहेका थिए।
लामिछानेले भाषण गरिरहेकै वेला स्टेज अघिल्तिर उभिइरहेका एक युवकले मकैको खोयाले प्रहार गरे। मकैको खोयाले लामिछानेलाई त लागेन तर स्टेजमा लाग्यो।
युवकले जानाजान नै उनलाई ताकेर खोया प्रहार गरेको प्रत्यक्षदर्शीले बताए। “रवि लामिछानेमाथि नै मकैको खोया हानेका हुन्,” एक प्रत्यक्षदर्शीले भने।
मञ्चमा सभापतित्व गरिरहेका रास्वपा कास्की जिल्ला संयोजक योगराज पौडेलले पनि जानाजानै मकैको खोया प्रहार भएको बताए। “अघिल्तिर उभिइरहेका युवाले सभापतिलाई लक्षित गरेरै खोया प्रहार गरेका हुन्,” पौडेलले भने।
मकैको खोया प्रहार गर्ने युवकलाई रास्वपा कार्यकर्ताले कुटपिट गर्न खोजेका थिए। नजिकै सुरक्षामा खटिएका प्रहरीले रास्वपा कार्यकर्ताबाट जोगाउँदै युवकलाई नियन्त्रणमा लिए।
वडा प्रहरी कार्यालय, रामबजारको टोलीले मकैको खोया प्रहार गर्ने युवकलाई नियन्त्रणमा लिएको थियो। उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीमा राखिएको छ।