काठमाडौं । कम्युनिष्ट पार्टीहरुबीच एकता, ध्रुबिकरण र सहकार्य गर्ने भन्दै हुने गरेका एकता, कार्यगत एकता र मोर्चाहरु खासै सफलतामा पुगेको देखिन्न । तर, पछिल्लो समय फेरि माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकतामा जोड दिइरहेको छ ।
एकता गर्न चलेको वार्ता र छलफल सकारात्मक दिशामा अघि बढेको दाबी गरिएपनि प्रचण्ड–बाबुरामकै अडानका कारण एकतामा समस्या हुने देखिन्छ ।
गएको निर्वाचन अघि नै पार्टी एकताको अन्तिम तयारीमा पुगिसकेका प्रचण्ड –बाबुराम एकता गर्न हच्किए ।
एकता नभएपनि साझा चुनाव चिन्ह लिएर उनीहरु निर्वाचनमा होमिए । निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर नेसपा चुनावमा गयो । तर, त्यसपछि एकताको प्रक्रिया अघि बढ्नुको साटो थप चर्किन थाल्यो ।
गोरखाको आफ्नो निर्वाचन क्षेत्रमा प्रचण्डलाई स्वागत गरेका बाबुराम समाजवादी मोर्चा गठनसम्म आइपुग्दा भने पुरै विच्किइसकेका थिए ।
प्रचण्डसँग टाढा हुँदै गएका बाबुरामलाई प्रचण्डको पार्टी एकताका लागि गएको प्रस्तवको पत्रले पनि काम गर्यो ।
माओवादी केन्द्रले महेन्द्र राय यादवलाई पत्र पठाउदै एकताका लागि पार्टीको नामबाट माओवादी हटाउन सकिने प्रस्ताव नै ग¥यो ।
माओवादी केन्द्रले बाबुरामलाई पनि पत्र पठाएको दाबी गरेपनि बाबुरामले आफूलाई पत्र नपठाई पार्टीभित्र विग्रह मच्चाउन खोजेको आरोप नै लाग्यो । त्यसपछि फेरि यादवसहित बाबुराम पक्षकै नेताहरुले पनि पार्टी एकताका लागि दबाब दिन थालेपछि भने बाबुराम पनि पार्टी एकताका लागि समिति गठन गर्नसम्म सहमत बने ।
बाबुराम पार्टीको नाममा कम्युनिष्ट राख्न नहुनेमा तर्क अघि सारिरहेका नेता हुन् । उनले एक अन्तरवार्ताको क्रममा नेपालमा कम्युनिष्ट भन्ने नै नरहने दाबी गरेका छन् ।
माओवाद, मार्क्सवाद र लेनिनवाद जपेर समाजको समृद्धि नहुने र समाजवादतर्फको यात्राका लागि वैकल्पिक विचार नै आवश्यक पर्ने उनको तर्क देखिन्छ । तर, प्रचण्ड भने पार्टीको नामबाट कम्युनिष्ट हटाउन नसकिने तर्क गर्छन् ।
समाजवादी यात्राका लागि समाजवादबारे छलफल गर्न तयार भएपनि कम्युनिष्ट पार्टीको नामबाट बाहिर जान नसकिने प्रचण्डको तर्क छ ।
पार्टी एकताका लागि भन्दै नेसपाले बाबुरामको नेतृत्वमा वार्ता समिति नै बनिसकेको छ । माओवादी केन्द्रले पनि प्रचण्डकै नेतृत्वमा समिति बनाउने बताइएको छ । तर, यसले ठोस रुप लिन भने सकेको छैन् ।
बाबुराम पार्टीको नाम, चरित्र र विचार कम्युनिष्ट राख्नै नचाहने र माओवादी केन्द्र कम्युनिष्ट छाड्नै नसक्ने स्थितिमा दुई पार्टीबीचको एकता सम्भव होला ?
प्रश्न गर्न थालिएको छ । तर, नेसपाभित्र वैकल्पिक शक्तिको अभ्यासमा आफूहरु लगभग फेल नै भइसकेको भन्दै पार्टी एकताका लागि तयार देखिन्छन् । यद्यपी शक्ति क्षयीकरण र पार्टीभित्रको दबाबमा रहेका बाबुराम कम्युनिष्ट नाम राख्दै माओवादीसँग एकता गर्न राजी बन्लान ? आशंका कायमै छ ।