मन्त्रिपरिषद् हेरफेरको अन्तिम तयारीमा प्रधानमन्त्री

Telecom

काठमाडौं । मन्त्री तथा सचिवहरुको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् नै हेरफेर गर्ने बताएका छन् । प्रधानमन्त्री बनेको एक वर्षसम्म पनि नागरिकलाई सन्तुष्ट पार्न नसकेको स्वीकार गरेका दाहालले अब नयां ढंगबाट काम गर्ने संकल्प गरेका हुन् । तर मन्त्रीहरु आफ्ना काममा भएका कमजोरी स्वीकार्न तयार छैन ।

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने ठगी, बालुवाटार जग्गा र सुन तस्करीका विषयमा निर्मम भएका सुशासनका केही विषयबाहेक सरकारले प्रभावकारी कार्यसम्पादन देखाउनै नसकेको निचोडमा प्रधानमन्त्री पुगेका हुन् ।

प्रधानमन्त्री दाहालले राम्रो काम गर्नभन्दा पनि सरकार गठन गर्दा गठबन्धन दलबीच भएको सहमतिअनुसार सांसदहरुलाई भाग पुर्‍याउन पनि मन्त्री परिवर्तनको प्रयास थालेको टिप्पणी हुन थालेका छ ।

गत वर्षको पुस १० गते तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहालले नयाँ ढंगले काम गर्ने र जनताका अपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । तर उनी प्रधानमन्त्री भएको एक वर्षसम्म पनि उपलब्धिपूर्ण काम गर्न सकेका छैनन् । त्यसको दोष मन्त्री तथा सचिवहरुलाई दिँदै आएका छन् । मन्त्री तथा सचिवहरुको कार्यसम्पादन विवरण मागेर निर्देशन दिँदा पनि कुनै प्रगति हुन नसकेपछि उनले शुक्रबार मोरङमा पुगेर अब मन्त्रिपरिषद् नै फेरबदल गर्ने बताएका हुन् ।

त्यसो त सरकार गठनको एक वर्षमा सुशासन कायम गर्न कुनै काम नै नभएका भने होइनन् । ललिता निवास जग्गा, नक्कली भुटानी शरणार्थी प्रकरण, सुनकाण्डजस्ता ठूला भ्रष्टाचारका घोटालामाथि सरकारले छानबिन गरेको छ । यिनै काम देखाएर मन्त्रीहरु सरकारले काम गर्न नसकेको स्वीकार गर्न तयार देखिँदैनन् ।

प्रधानमन्त्री दाहालले मन्त्रीहरु फेरबदल गर्ने घोषणा गर्नुको पछाडि सत्ता गठबन्धनभित्रका असन्तुष्ट नेताहरुलाई मनाउने र गठबन्धन जोगाउने रणनीतिका रुपमा लिन थालिएको छ । किनकि गत वर्ष सरकार गठन हुँदा एक वर्षमा मन्त्री हेरफेर गर्ने सहमति भएको थियो । त्यहीअनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् फेरबदल गर्न चाहेको हुनसक्ने कांग्रेस नेता चन्द्र भण्डारी बताउँछन् ।

राजनीतिक विश्लेषक मुमाराम खनाल पनि प्रधानमन्त्रीलाई कामको भन्दा गठबन्धन जोगाउने चिन्ता बढी देखिएको दाबी गर्छन् । यद्यपि प्रधानमन्त्री र मन्त्रीहरु कसैको पनि कार्यसम्पादन प्रभावकारी नदेखिएको उनको भनाइ छ ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् फेरबदल गर्न त्यति सजिलो भने छैन । मन्त्रीका काममा असन्तुष्टि भए पहिले आफ्नो पार्टीबाट मन्त्री बनाएकाहरुलाई हटाउनुपर्ने हो । तर, त्यो काम अहिलेसम्म गर्न सकेका छैनन् । मन्त्रिपरिषद् हेरफेरको हल्ला चलाएर प्रधानमन्त्री दाहालले जनतालाई अलमल्याउन त खोजेका होइनन् भन्ने आशंका पनि कायमै छ ।

काम देखाउनका लागि एक वर्षको समयावधि पर्याप्त हुने भन्दै अब मन्त्रीलाई कुनै बहानाबाजी नदेखाउन प्रधानमन्त्रीले चेतावनी दिएको नेताहरू बताउँछन् । नेताहरूका अनुसार बैठकमा उनले आफ्ना मात्रै नभएर कांग्रेससहित दलका मन्त्रीको कार्यसम्पादनबारे पनि जनस्तरबाटै प्रश्न उठेको पटक–पटक बताएका थिए ।

adb bank long