काठमाडौ । अवैध रूपमा रुसी सेनामा भर्ना भएका नेपालीहरूले एकपछि अर्को गर्दै ज्यान गुमाइरहेको खबर आइरहँदा बाँकेको खजुरा गाउँपालिका-२ बाबास्थानकी पवित्रा विक र उनको परिवारको मन डर र चिन्ताले ग्रसित छ ।
आफ्ना श्रीमान् रोशन विक पनि मानव तस्करको जालमा परेर रुसी सेनामा भर्ती भएको र उनलाई युक्रेनविरुद्धको युद्धमा खटाइएको खबर पाएपछि उनीहरूको यो अवस्था भएको हो । रोशन मात्र होइन खजुराका अन्य दुई युवा पनि रुसी सेनामा भर्ना भएर युक्रेन युद्धमा खटिएको पाइएको छ ।
विदेश हिँडेका आफ्ना श्रीमान् रुसी सेनामा भर्ना भएको खबर पाएयता आँसुमा डुबेकी पवित्रा विकका आँखा कुनै दिन पनि ओभाएका छैनन् । युक्रेन विरुद्धको युद्ध क्षेत्रमा खटिएका प्राणप्यारो लोग्ने रोशनको चिन्ताले भोक तिर्खा पनि हराएको पवित्रा बताउँछिन् ।
मानव तस्करले रोशनलाई असोज ९ गते काठमाडौंबाट दुबई हुँदै रुस पुर्याएका थिए । रुसी सेनामा भर्ना भएका नेपाली युवामध्ये ६ जना भन्दा बढीको मृत्यु भएको खबर सुनेका बाबुआमा आफ्ना छोराको स्थिति सम्झेर भयभीत र चिन्तित छन् ।
आँगनमा खेलिरहेका रोशनकी १२ वर्षीया छोरी र १० वर्षे छोरालाई आफ्ना बाबु कुन जोखिममा छन् थाहै छैन । तर थाहा पाएका छिमेकी र आफन्तहरू भने घरमै पुगेर रोशनलाई जतिसक्दो छिटो रुसी सेनाबाट निकालेर घर फिर्ता बोलाउने प्रयासमा लाग्न सुझाव दिने गरेका छन् ।