काठमाडौ । नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट दैनिक ४ घण्टा बन्द हुनेछ । नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आज शनिबार देखि ३ हप्ताका लागि दैनिक चार घण्टा सवारी साधन चल्न बन्द गरिएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ ।
आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र चलाउन पाइने छ ।
काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी सधान १०ः४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताए । यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०ः५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०ः४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ ।
पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ । गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । बिस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको आचार्यले बताए ।
६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको आचार्यले बताए । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ ।