काठमाडौं । विश्व हिन्दु महासंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त नगरे देशब्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्तिमार्फत महासंघले किरातीलाई पदमुक्त नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।
“…ॐकार परिवारको आस्था र विश्वासमा आघात पुग्ने गरी देशको महत्त्वपूर्ण संस्कार र संस्कृतिको संरक्षणको जिम्मेवारी बोकेको संस्कृति मन्त्रालयको मन्त्री जस्तो गरिमामय पदमा बसेर कुनै धर्मको आड लिएर अन्य धर्म मान्नेहरूको आत्मसम्मानमा चोट पुग्ने गरी दिइएको राष्ट्रघाती अभिव्यक्तिप्रति घोर भर्त्सना गर्दै गम्भीर आपत्ति प्रकट गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।
महासंघले किरातीलाई २४ घण्टाभित्र पदमुक्त गर्न माग गरेको छ । “अराजक, अपाच्य, अभिव्यक्ति दिने जो कसैलाई राष्ट्रको महत्त्वपूर्ण जिम्मेवारीमा राख्नु अशोभनीय रहन्छ । तसर्थ सम्माननीय प्रधानमन्त्रीज्यूलाई अराजक संस्कृति मन्त्रीलाई तत्काल २४ घण्टाभित्र पदमुक्त गर्नुहुन प्रेस विज्ञप्तिमार्फत अनुरोध गर्दछौँ,” महासंघका महासचिव रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।