काठमाडौं । पर्यटनमन्त्री सुदन किराँती बेलाबेला विभिन्न कारणले चर्चामा आईरहन्छन् ।उनले बेलाबेलामा दिएकाे अभिव्यक्तिका कारण चर्चामा र बिबादमा समेत तानिन्छन् । विभिन्न स्टन्टबाजी गर्दै चर्चामा रहन रुचाउने पर्यटन मन्त्री सुदन किराँती बिबादास्पद अभिव्यक्तिका कारण सर्बत्र आलोचनाको पात्र बनेका हुन् । पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने मन्त्री किराँतीलाई कानुन बमोजिम कारबाही गर्न पनि माग गरेका छन् । चौतर्फी आलोचना बढ्दै गएपछि उनको मन्त्री पदसमेत धरापमा परेको छ । तर, मन्त्री किराती र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने यसबारेमा कुनैपनि धारणा सार्वजनिक गरेका छैनन् ।
क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन् भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको मन्त्री पद धरापमा परेको छ ।
बुधबार राजधानीमा भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए । उनले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताएपछि उनको चौतर्फी आलोचना भईरहेको छ ।
किराँतीले भनेका थिए,‘नेपाल बहु धार्मिक राज्य हो । यो संविधानले स्वीकारेको कुरा हो । मैले भनेको कुरा होइन । राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिश्चियनहरु भइसकेका छन् । क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हालिदिने हो ।’
मन्त्री किराँतीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउादै राप्रपा नेपालका अध्यक्ष कमल थापाले उनलाई बर्खास्त गर्न माग गरेका छन् । क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन् भन्ने अभिव्यक्ति मन्त्री किराँतीले दिएको भन्दै थापाले उनलाई बर्खास्त गर्न माग गरेका हुन् ।
‘क्रिश्चियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल वर्खास्त गर्नुपर्दछ’,थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यान जाओस् ।’