अर्थमा दर्जन सहसचिवको जिम्मेवारी हेरफेर , को–को भित्रिए र बाहिरिए ?

Telecom

काठमाडौ । अर्थमन्त्री प्रकाशशरण महतले अर्थ मन्त्रालयका दर्जन सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् ।

जस अनुसार प्रशासन महाशाखाका प्रमुख रहेका सहसचिव आनन्द काफ्ले र मध्यमस्तरीय कर कार्यालयमा कार्यरत ढुण्डी प्रसाद निरौला अर्थ मन्त्रालयबाट बाहिरिने सहसचिवमा परेका छन् । काफ्लेले प्रशासन महाशाखामा रहेर राम्रो काम गर्दा गर्दै अर्थ मन्त्री डा. प्रकाशशरण महत र अर्थ सचिव डा.कृष्णहरि पुस्करको कोपभाजनमा परेर लखेटिएको चर्चा सिंहदरबार परिसरमा छ ।

उनको गृह मन्त्रालयमा सरूवा भएको छ । कर्मचारी प्रशासन महाशाखामा कार्यरत सहसचिवलाई सरूवा हुँदा रोजेर महत्वपूर्ण जिम्मेवारी दिने प्रचलन थियो । तर, उनलाई मन्त्रालयबाट अन्यत्रै लखेटिएको छ । गृह पुगेका काफलेलाई उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले झापा वा सुनसरी जिल्लाको सिडिओ बनाएर पठाउन सक्ने सम्भावना रहेको समाचारस्रोतले जानकारी दिएको छ ।

मध्यमस्तरिय करदाता कार्यालयका प्रमुख निरौला भने सम्पत्ति शुद्विकरण अनुसन्धान विभागको महानिर्देशक बन्न अर्थबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आफैले सरूवा मागेर गएको स्रोतले दावी गरेको छ । अर्थ मन्त्रालयबाट २ जना बाहिरिदा तीनजना सहसचिव भित्रिएका छन् । अर्थ मन्त्रालय भित्रिने भाग्यमानी सहसचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव पार्वती शर्मा अर्याल रहेकी छिन ।

यसैगरी, लगानी बोर्डका सहसचिव अमृत लम्साल पनि अर्थ मन्त्रालय भित्रिएका छन् । राष्ट्रिय योजना आयोगबाट सहसचिव महेश बराल पनि अर्थ मन्त्रालयमा सरुवा भएका छन् । उनी कम्पनी रजिष्ट्रारको कार्यालयबाट तीन महिना अगाडि मात्रै राष्ट्रिय योजना आयोगमा सरूवा भएका थिए । यसबीचमा अर्थ मन्त्रालयबाट २ जना सहसचिव सेवानिवृत भएका छन । एक महिनापछि सहसचिव बाबुराम सुवेदी अवकास हुँदैछन । सार्वजनिक ऋण व्यावस्थापन कार्यालयका भुमि शर्मा र आन्तरिक राजस्व विभागका गोविन्द प्रसाद सुवेदी सेवानिवृत भएका छन् ।

मन्त्रालयले ६ जना सहसचिवको जिम्मेवारी हेरफेर तथा पदस्थापन गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले गएको मंसिर १८ गते सरुवा भई आएका र लामो समयदेखि मन्त्रालयको बरण्डामा रहेका सहसचिव महेश आचार्य र राजेश्वर ज्ञवालीकालाई पदस्थापन गरेका छन । केही सहसचिवहरु जिम्मेवारीसमेत हेरफेर गरेका छन ।

तीन महिना भन्दा बढी समय देखि बरण्डामा थन्काइएका ज्ञवालीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकमा पदस्थापन गरिएको छ । लामो समयदेखी जिम्मेवारबिहीन रहेका सहसचिव महेश आचार्यलाई प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ ।

महालेखा नियन्त्रकको कार्यालयमा सहमहालेखा नियन्त्रक रहेका शम्भुप्रसाद मरासिनीलाई भन्सार जाँच पास परीक्षण कार्यालयको प्रमुख भन्सार परीक्षण प्रशासकमा खटाइएको छ । राष्ट्रिय योजना आयोगबाट मन्त्रालयमा सरुवा भएका सहसचिव महेश बराललाई कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिको जिम्मेवारी दिइएको छ ।

लगानी बोर्डबाट सरुवा भएर मन्त्रालय भित्रिएका सहसचिव अमृत लम्साललाई मध्यमस्तरीय करदाता कार्यालय, बबरमहलको प्रमुख कर प्रशासकमा खटाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मन्त्रालयमा सरुवा भएर आएकी सहसचिव पार्वती शर्मालाई भने आन्तरिक राजश्व विभागको उपमहानिर्देशकमा खटाइएको मन्त्रालयले जनाएको छ ।

adb bank long