काठमाडौं ।माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई सरकारमा सहभागी गराउन प्रयास गरिरहेका बेला नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले सु्शासनका कुरा गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथी गम्भीर आरोप लगाएका छन् ।
मंगलबार एक टेलिभिजन संवाद कार्यक्रममा नेता दाहालले रविले सुराकी वापत दैनिक पाउने ५० हजार पनि नछोडेको र करिव एक अर्ब कमिसन आउने गरी नेपालीको व्यक्तिगत डेटा र राज्यको सुरक्षा सूचनाको काम विदेशी कम्पनीलाई दिने निर्णय गरेको आरोप लगाएका हुन् ।
‘उहाँले ३२ दिन गृह मन्त्रालय सम्हाल्नु भयो । ३२ दिनमा के गर्नुभयो त्यो नेपाली जनता जानाकार छन् । जनतालाई ढाँट्न हुँदैन, सत्य जे हो, सत्यको जगमा उभिएर वहस गरौं । नयाँ पार्टी भएपछि नयाँ पार्टीले त नयाँपन ल्याउनु पर्यो नि । सत्यलाई स्वीकार गर्नुपर्यो, सत्यलाई आत्मसात गर्नुपर्यो । राम्रा कामको प्रशंसा गर्नुपर्यो ।’ उनले भने, ‘नराम्रा काम छन् भने आलोचना गर्नुपर्यो । रविजीले गृहमन्त्रालय ३२ दिन सम्हाल्दाखेरी उहाँले प्रत्येक दिन सुराकी वापत लिने ५० हजार त्यो पनि लिनु भएको छ । त्यतिमात्रै होईन अवैधानिक ढंगले कानुन मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति विना फ्रान्सेली कम्पनीलाई नेपाली डाटा संकल्नको झण्डै एक अर्ब कमिसनको आधारमा दिनु भएको थियो ।’