बुटवल । लुम्बिनी प्रदेश सभाका विषयगत समितिका सभापति भागबन्डामा चयन गर्ने तयारी भइरहेको छ । सत्ता पक्ष र प्रतिपक्षबिच सहमतिमै समितिको नेतृत्व बाँडफाँट गर्ने तयारी भएको हो । लुम्बिनी प्रदेश सभाले पुस १६ गते सभापतिको मनोनयन र १७ गते निर्वाचन गर्ने कार्ययोजना बनाइसकेको छ । त्यस अघि नै दलहरूले ६ वटा विषयगत समितिको नेतृत्व भागबण्डा गर्ने तयारी गरेका हुन् ।
एमालेले लेखा समिति सहित अर्को एक समिति पाउने भएको छ । समिती सभापतिमा एमालेमा आधा दर्जन बढी आकांक्षा राखेका छन् । लेखा समितिको सभापतिमा रामजीप्रसाद घिमिरेलाई अगाडि सार्ने सम्भावना छ । अर्घाखाँचीबाट प्रदेश सभामा निर्वाचित घिमिरेलाई लेखा समितिमा अगाडि सार्ने सम्भावना बढी रहेको प्रमुख सचेतक तुल्सी चौधरीले बताए ।
यसका अतिरिक्त एमालेले पाउने अर्को समितिमा दिनेश पंथी, राजु श्रेष्ठ, खेम सारू, रत्नबहादुर खत्रीलगायतबाट कोही एक जनाले नेतृत्व गर्ने सम्भावना बढी छ । उक्त विषयमा पार्टीभित्र र संसदीय दलमा छलफल गरी टुङ्गोमा पुगिने एमालेका प्रमुख सचेतक चौधरीले बताए।
लुम्बिनीमा प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ, उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समितिसहित ६ वटा विषयगत समिति छन् । यस अतिरिक्त एउटा विशेष अधिकार समिति छ । दलहरू बीच भएको मोटामोटी सहमति अनुसार कांग्रेस र एमालेले २/२ वटा र अरु बाकीमा माओबादी सहित अन्य साना दलबाट सभापति बनाउने तयारी छ ।