एजेन्सी । विपरीत दिशाबाट आईरहेको गाडीले ठक्कर दिदा अमेरिकी राष्ट्रपति जो बाइडेन र फस्ट लेडी जिल बाइडेन सवार कार दुर्घटनामा परेको छ । राष्ट्रपति बाइडेन र उनकी श्रीमती सवार कारलाई विपरीत दिशाबाट आएको गाडीले ठक्कर दिएको हो ।
आइतबार राति डेलावेयर राज्यमा एक कार्यक्रम सकेर फर्किंदै गर्दा अमेरिकी राष्ट्रपतिको कार दुर्घटनामा परेको थियो । अमेरिकी सिक्रेट सर्भिसका गाडीहरू वरपर हुँदा पनि बाइडेन सवार कार दुर्घटनामा परेको हो ।
डेलावेयरमा कार्यक्रम सकेपछि बाइडेन दम्पती रेस्टुरेन्टमा खाना खान छिरेका थिए । त्यसपछि उनीहरूले पत्रकारहरूसँग पनि कुराकानी गरेका थिए । जब बाइडेन दम्पती आफ्नो कारमा छिर्छन्, केही बेरमै उनीहरूको कारलाई अर्को गाडीले ठक्कर दिन्छ ।
सार्वजनिक भएका भिडियोहरूमा ठक्करको आवाज स्पष्ट सुन्न सकिन्छ भने पत्रकारहरू दुर्घटनास्थलतिर कुदिरहेको देख्न सकिन्छ । उक्त दुर्घटनापछि नै सिक्रेट सर्भिसका सुरक्षाकर्मीहरूले विपरीत दिशाको गाडीका चालकमाथि बन्दुक तेर्स्याएका थिए । त्यसपछि ती चालक हात उठाउँदै बाहिर निस्किएका थिए ।