काठमाडौं । समाजवादी मोर्चाले आज एक वक्तब्य निकाल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेताहरूविरुद्ध दुई साताअघी जारी भएको पक्राउ पूर्जीका बिषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
विप्लवसहित नेकपाका नेताहरूलाई असोज १८ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यो बिषयमा आज आएर मोर्चाका संयोजक समेत रहेका नेकपा समाजवादीका अध्यक्ष माधब कुमार नेपालको हस्ताक्षर रहेको बक्तब्य जारी भएको हो।
वक्तव्यमा भनिएको छ, ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यस प्रकारको कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिनका लागि सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न हामी सरकार र सम्बद्ध पक्षलाई आह्वान गर्दछौं ।’
सरकार र नेकपाबीच भएको ३ बुँदे सहमति कार्यान्वय गर्न माग गरेका छन् । नेकपा नेताहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि मुद्दा दायर भएको थियो ।
विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध जिल्ला अदालत काठमाडौंले असोज १४ गते गोरखापत्रमा सूचना प्रकाशित गरेर पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित आफैं उपस्थित भनिएको थियो ।
यसरी दुईसाता पछाडी बक्तब्य जारी गरेर ध्यानाकर्षण भएको जनाउनुलाई समाजवादी मोर्चाले झारा टार्न खोजेको भनेर राजनीतिक बृतमा टिप्पणी भएको छ। मोर्चाको आवरणमा माधब नेपालको यो तरिकालाई कतिपयले सरकारमा आफ्नो अंशबण्डाको हिस्सा बढाउदै लैजाने नीतिका रूपमा बुझेका छन्।