किन तोड्यो बिधुत् प्राधिकरणले चाईनिज कम्पनीसंगको ठेक्का ?

Telecom

काठमाडौ । आयोजना निर्माणमा चरम ढिलाइ र लापरवाही गरेको भन्दै नेपाल बिधुत् प्राधिकरणले त्रिशुली थ्री बी जलबिधुत् आयोजनाको निर्माण गरिरहेको चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपसँगको ठेक्का सम्झौता तोडेको छ ।

रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेघावाटको उक्त आयोजनाको करिब ६६ प्रतिशत काम सकिए पनि पछिल्लो समय  ठप्प भएको छ । इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणको जिम्मा लिएको सुइफा ग्रुपले १ वर्षदेखि प्रगति देखिने गरी काम नै गरेको थिएन ।

ठेक्का तोडेर बैंक ग्यारेन्टी र पर्फर्मेन्स ग्यारेन्टी समेत जफत गरिएको प्राधिकरणले जनाएको छ । पटक–पटक कामलाई गति दिन निर्देशन दिँदा पनि ठेकेदारले अटेरी गरेपछि ठेक्का ताेडिएकाे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

घिसिङका अनुसार बाँकी काम गर्न पुसभित्रै अर्को ठेक्का लगाउन सूचना प्रकाशित गरिनेछ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत बनिरहेको आयोजनाको प्रवर्द्धक कम्पनीमा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारणको सेयर छ ।

नयाँ वर्ष मनाउन २०७६ माघमा घर गएका चिनियाँ कामदारहरू कोभिड–१९ महामारीका कारण फर्कन नसक्दा र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा आयोजनाको निर्माण करिब १५ महिना ठप्प भएको थियो ।

आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनः सुरु भएकोमा फेरि काममा आलटाल भइरहेको थियो । फागुन २०७७ भित्र सक्ने लक्ष्य राखी निर्माण सुरु गरिएको आयोजना कोराना महामारीका कारण काम रोकिएपछि म्याद थप गरेर असोज २०८० भित्र सक्ने नयाँ लक्ष्य तय भएको थियो ।

आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग २९ माघ २०७४ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

adb bank long