जनकपुर । जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा मधेश प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पनि विवाह पञ्चमीको अबसरमा शुभकामना दिएका छन्।
मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ ।
मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन हो । त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको विश्वास गरिन्छ । त्यसैले अहिलेसम्म राम जानकीको डोलालाई स्वंम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन अहिले पनि छ ।
आज साधुशन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा पुगेपछि स्वयम्बर गरिन्छ । राम मन्दिरका महन्थ रामगिरी छोरा पक्ष रामका बुबाको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताकी बुबा राजा जनकको भूमिकामा हुन्छन् ।
स्वयम्बर पश्चात दुवै डोला नगरपरिक्रमा गरी जानकी मन्दिरमा पुगेपछि साँझदेखि वैदिक परम्परा अनुसार राम र जानकीको विवाह सुरु हुनेछ । यहाँ बनाइएको विवाह मण्डपमा मैथिली परम्परा अनुसार रातभरी रामजानकीको विवाह हुने गर्दछ ।
विवाहपञ्चमी महोत्सवमा आएका श्रद्धालुहरु भक्तजनहरु विभिन्न स्थानहरुमा हुने संस्कृतिक कार्यक्रममा सहभागी हुँदै रमाउने गर्दछन् । मिथिलाको लोप हुन लागेको कलासंस्कृतिहरुको झझल्को यस्ता सांस्कृतिक कार्यक्रमहरुमा हेर्न पाइन्छ । यसमा बालबालिकाहरुलाई, राम, सीता, लक्ष्मण बनाएर नाटक प्रदर्शन, नाचागान, भजनकीर्तन, झाँकी र भगवानको रुपमा पूजाआजा समेत गरिन्छ । यसले श्रद्धालुहरुलाई निकै उत्साहित बनाउने गर्दछन् ।