तेह्रथुम । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले आफ्ना बालसखासँगको संवादमा गाउँमा मान्छे आउने वातावरण बनाउने योजनामा आफू लागेको बताउनुभएको छ ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत शुक्रबार आफ्नो जन्मथलो तेह्रथुमको आठराई सङ्क्रान्ति पुग्दा ओलीले आफ्ना बालसखासँग मन फुकाएर कुरा गर्नुभयो ।
उहाँहरू मध्ये केहीले ओलीलाई गाउँमा बस्ने वातावरण नभएको गुनासो गर्नुभयो । केहीले भने आफूहरूले व्यावसायिक कृषि सुरु गरेको बताउनुभयो ।
ओली गाउँमा पुग्दा एक बालसखाले भिडियो कल गर्नुभयो र गाउँमा बस्ने वातावरण नभएका गुनासो गर्नुभयो । ‘त्यहाँ सुनसान छ, कोही छैन अप्ठेरो छ’, उहाँले गुनासो गर्नुभयो ।
केपी ओलीको पहलमा गाउँमा बाटो पुगेको तथा प्राविधिक शिक्षालय बनेकोमा भने उहाँले खुसी व्यक्त गर्नुभयो । आफू जन्मिएको ठाउँ बनाएका भन्दै उहाँले ओलीको प्रशंसा गर्नुभयो । ओलीले आफ्नो घर जग्गा र छिमेकीको समेत किनेर प्राविधिक शिक्षालयलाई दान दिनुभएको छ, जहाँ प्राविधिक विषयका विद्यार्थी पढिरहेका छन् ।
गाउँ सुनसान भएको भन्दै फोन गर्ने सखालाई ओलीले गाउँमा मानिस आउने र कृषि कर्मको वातावरण बनाउने योजना आफूले बनाइरहेको बताउनुभयो । ‘म योजना गर्दै छु, मान्छे आउने खालको योजना, कसरी कृषि गर्ने, यो खालको कृषिको योजना गर्दै छु’, ओलीले उहाँलाई आश्वस्त पार्नुभयो ।
उहाँले भिडियो कल गर्दा गर्दै अर्का बालसखाले ६ सय एभोकार्डो र ११ सय बोट कागती लगाएको ओलीलाई सुनाउनुभयो । ओलीले उहाँलाई सो तरिका ठिक भएको बताउनुभयो ।