काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्गगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण आज जेलाबाट रिहा हुँदैछन् । उनलाई हिजो उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्ने आदेश दिएसँग आज रिहा हुन लागेका हुन ।
आज कारागार मुक्त हुनुअघि उनलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी गरिरहेको छ ।
खाँणले अदालतमा धरौटी बुझाएपछि सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइने केन्द्रीय कारागारका जेलर मित्रलाल लुइँटेलले जानकारी दिएका छन् ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु भनेर ठगेको मुद्दामा खाणलाई उपस्थित गराउन सम्पत्ति शुद्धीकरण र अख्तियारले यसअघि नै कारागारमा पत्र पठाएका थिए ।
उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेले खाणलाई ३० लाखमा छाड्न आदेश गर्दा अर्का न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए । न्यायाधीशहरुको राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा उक्त प्रक्रियाको सुनुवाइ भएको थियो । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाणलाई ३० लाखमा छाड्न आदेश दिएसँगै उनी रिहा हुन लागेका हुन् ।
कारागार प्रशासनमा निवेदन दिएपछि उनलाई रिहा गर्ने प्रक्रिया सुरु गरिने सहायक जेलर लुइँटेलले जानकारी दिए ।