संकल्प यात्राको क्रममा देखियो एमाले प्रतिको विश्वास र केपी ओली प्रतिको भरोसा 

Telecom

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा पार्टीको नेतृत्व लिएर अहिले महाकालीदेखि मेचीसम्मको यात्रामा हुनुहुन्छ । नेकपा एमालेले गत मङ्सिर १४ गते बैतडीको झुलाघाट स्थित महाकली नदी किनारबाट सुरु गरेको यात्रा अहिले मध्य नेपाल आइपुगेको छ र पूर्व तर्फ अघि बढ्दै छ । महाकालीबाट सुरु भएको यात्रा सोमबार धुलिखेलबाट दोलखाको चरिकोट हुँदै रामेछाप आउँदै छ । सोमबार एमालेको टोली पुष्पलालको जन्मस्थल रामेछापमा बास बस्दै छ ।

महाकालीबाट सुरु गरेको यात्रामा जनताको स्वागत, साथ र समर्थन यति धेरै बढ्यो कि नेकपा एमालेको नेतृत्वलाई निर्धारण गरेको लक्ष अनुसारको बाटो छिचोल्न धौ धौ परेको छ । यात्राको क्रममा सडकमा लाइन लागेर बसेका नागरिकको स्वागत, सल्लाह र गुनासो सुन्दै अघि बढ्दा तोकिएको समयमा कुनै पनि गन्तव्यमा एमालेका नेताहरू पुग्न सकेका छैनन् ।

हरेक ठाउँमा तोकिएका कार्यक्रम निर्धारण गरेको समयभन्दा ढिलो हुने गरेका छन् । दिउँसो भनेका कार्यक्रमहरू, साँझ हुने गरेका छन्, साँझ भनिएका कार्यक्रमहरू राति १०÷११ बजेसम्म सञ्चालन हुने गरेका छन् । तर नागरिकमा कुनै निराशा देखिएको छैन, आक्रोस देखिएको छ ।

नेताहरूले गर्दा यात्रामा ढिलाइ भएको होइन, जनताको व्यापक समर्थन, सत्कार र स्वागतले यात्रामा ढिलाइ भएको छ । नागरिकको स्वगत ग्रहण गर्न टोलीलाई भ्याइ नभ्याई छ ।

अभियानमा हिँडेको एमालेको टोलीलाई समर्थन जनाउन, पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूलाई स्वागत गर्न साना बालबालिकादेखि उमेर ढल्की सकेका वृद्ध- वृद्धा समेत त्यतिकै उत्सुकताका साथ घण्टौँ कुरेर बसेको पाइएको छ । त्यो पनि एकछिन होइन, एक घण्टा, दुई घण्टा पनि होइन, घण्टौँ घण्टा । बिहानदेखि साँझसम्म, दिउँसोदेखि मध्यरातसम्म ।

एमालेले यो अभियानमा के गर्दै छ भन्ने मात्र होइन, केपी ओलीले के बोल्नु हुन्छ भन्ने कुरालाई पनि सामान्य नागरिकले समेत उत्सुकताका साथ लिएका छन् । बालबालिका हुन् वा युवा, प्रौढ हुन् वा ज्येष्ठ नागरिक सबैले उहाँको बोलीलाई ध्यानपूर्वक मन्त्रमुग्ध भएर सुनेको पाइन्छ । जीवनको उत्तरार्धमा पुग्नुभएका जेष्ठ नागरिक सहभागिता, लगाव र एकाग्रहताले एमाले प्रतिको विश्वास र भरोसा झल्काउँछ । अझ साना बालबालिकाको केपी ओली वी लभ यु को नाराले केपी ओली प्रतिको बालबालिका क्रेजलाई प्रमाणित गर्छ ।

पुराना पार्टी काम लग्दैनन्, अब पुराना दल र ती दलका नेताहरूले देशको लागि केही गर्न सक्दैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको बेला एमालेको यो अभियानले ती भ्रमलाई चिरेको छ । नागरिकको उपस्थिति, उत्साह र जिज्ञासाले राजनीतिक दल कहिल्यै पनि पुराना हुँदैनन् भन्ने कुरा पुष्टि गरेको छ । एमाले र पुराना दल प्रतिका अफवाहहरूलाई खारेज गरिदिएको छ । नागरिकको एमाले प्रतिको विश्वास र केपी ओली प्रतिको भरोसालाई प्रमाणित गरेको छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

अभियान पछि एमालेले मध्य पहाडको विकासमा लिने नीत र त्यसले पहाडको विकास र जनजीवनमा ल्याउने परिवर्तनलाई नागरिकले उत्साहको रूपमा लिएका छन् ।

adb bank long