ईटली । ईटालीमा चलिरहेको फेयर एक्पोमा नेपाली एजेष्टबाट नेपाली व्यवसायी ठगिएका छन् । उनीहरुले बिभिन्न निकायमा गुहार पनि मागे तर, कतै सुनाई भएको छैन । यहाँ बिश्वभरका उत्पादनसहित नेपाली उत्पादन पनि प्रदर्शनीमा राखिएका छन् । तर, एजेन्टका कारण नेपाली उत्पादनका सामाग्रीको अवमुल्यन भएका छन् ।
यहाँ १ सय २ वटा नेपाली स्टलहरुमा नेपाली उत्पादन प्रदर्शनीमा राखिएका छन् । तर, नेपाली एजेण्ट सागर थापा र सरोज थापाले नै नेपाली उत्पादन भनेर भारतीय र चीनका सामान प्रदर्शनमा राखेको एक नेपाली व्यवसायीले बताए । थापा दुईभाईले नेपालीका १ सय २ स्टल मध्ये ८ वटा आफुले हत्याएका छन् । उनीहरुले मुख्य मुख्य चोक र अग्रभागमा आफुले स्टल लिएका छन् । भित्री भागमा मात्र अन्य व्यवसायीलाई स्टल दिएका छन् ।
स्टलभाडा बापत लिएको ४६ सय १० युरोमा पनि उनीहरुले कमिशन लिएकोमा नेपाली व्यवसायीले बिरोध गरेका थिए । थापा दुईभागको स्टलमा नेपाली पश्मिना भनेर भारत र चीनमा निर्मित पश्मिनाका सामान राखेको कारण अवलोकनकर्ताले अलोचना गरेपछि यो रहस्य खुलेको हो । नेपाली सामान लैजाँदा भाडा महंगो पर्ने कारण पनि भारतीय र चिनियाँ सामानलाई नेपाली ब्राण्ड भनेर प्रदर्शनमा राखिएको रहस्य खुलेको हो ।
काठमाडौमा गोप्य कार्यालय सञ्चालन गरेर तालिमको नाटक मञ्चन गर्दै मोटो रकम लिएर प्रदर्शनीको नाममा अवैध मानिसलाई पनि युरोप प्रवेश गराएको आरोप उनीहरुलाई छ । एउटा स्टल बरावर ६ सय पचास युरो कमिशन र दश दिनको स्टल भाडाबापतको ४६ सय १० युरोमा पनि उनीहरुले १५ प्रतिशत कमिशन खाने गरेका छन् ।
काठमाडौं बाट ईटाली उड्नु अघि नै तालिम बापत भनेर ४० हजार लिएको व्यवसायीहरुको गुनासो छ । ‘प्रदर्शनमा गएका नेपाली व्यापारीहरु घाटामा छन् तर हामीलाई नै ठगेर उनीहरुको करोडौं कमाई छ । ’एक व्यावसायीले भने,‘हरेक व्यवसायी ६ देखि ७ लाख घाटामा छन् ।’
काठमाडौंमा भएको सहमति अनुसारको सेवासुबिधा पनि पाएका छैनन् । तर, एजेण्डका रुपमा काम गर्ने थापाहरुले नेपाली नै ठगेर करोडौं रुपैयाँ कुम्ल्याएका छन् ।
पीडित व्यवसायीले पश्मिना संघ, उद्योग वाणिज्य संघ तथा अन्य निकायमा पनि कुरा राखेको प्रदर्शनमा सामानसहित सहभागिले बताए । तर, उनीहरुले यस वारे कुनै चासो राखेका छैनन् । नेपाली उत्पादनको पश्मिना भनेर भारत र चीनका सामान प्रदर्शनमा राखेर देशकै बेईज्जत गर्दा पनि नेपाली निकायले एक्सन लिन नसक्नु दुर्भाग्य भएको एक व्यवसायी बताउँछन् ।