काठमाडौ । आज बाला चतुर्दशी अर्थात मार्गशीर्ष कृष्ण चतुर्दशी । पाशुपत (पशुपति)क्षेत्रमा आज बिहानैदेखि शतबीज छर्ने कार्य सुरु भएको छ।
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको मुक्तिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिने परम्परा रहेको छ। चतुर्दशी भगवान् शिबको प्रिय दिन हुने हुँदा आज शिवालयमा शतबिज छर्ने गरिन्छ। शिबरात्री पनि चतुर्दशीकै दिन पर्ने गर्दछ ।
हिजो आइतबार रातभर दीप प्रज्वलन गरी जाग्राम बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन्। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन्।
त्रयोदशीका साँझ विधिपूर्वक संकल्प गरी महादीप बाली रातभर जाग्राम बस्ने र चतुर्दशीका दिब बिहानै नदीमा बत्ती बगाउने परम्परा छ।श्रद्धालु चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्छन्। शतबीजमा धान, जौ, गहुँ, चना, तिल र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो,अमला आदि फलका र विभिन्न किसिमका फूल हुन्छन्।
भगवान् शिव मृगरूप लिएर घुमेको विश्वास गरिने पुण्यक्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्।
चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने जन्ममृत्युको चक्रबाट मुक्त भइने चतुर्वर्ग चिन्तामणि नामक ग्रन्थमा उल्लेख छ।शतबीज छर्न देशभरका श्रद्धालु पशुपतिनाथ क्षेत्रमा आउने गरेका छन्। अचेल आफ्नो नजिक पर्ने शिवालयमा पनि शतबीज छर्ने चलन छ।