काठमाडौ । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।
भोलि मंगलबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशभरिको तापक्रममा गिरावट आएको हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ।