काठमाडौ । जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जी जारी भएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्।
शनिवार साँझ बालुवाटारमा नै प्रधानमन्त्री प्रचण्डलाई भेटेका प्रकाण्डले अदालतबाट जारी पक्राउ पुर्जी, यसअघिको सरकारसँग भएका सहमतिलगायत समसामयिक विषयमा छलफल भएको बताएका छन्।
२०७६ असोज ९ गते दायर भएको मुद्दामा अदालतले प्रकाण्डसहित पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, हेमन्तप्रकाश वली, माइला लामालगायत थुप्रै नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
भेटका क्रममा प्रधानमन्त्रीले सरकारसँग तीनबुँदे सहमति भएपछि पक्राउ पुर्जी जारी गर्न नहुने प्रकाण्डको भनाइमा सहमति जनाउदै आफु विप्लव नेतृत्वको नेकपाका नेतालाई पक्राउ पुर्जी जारी गर्नुहुँदैन भन्नेमा दृढ रहेको बताएका छन्।
प्रकाण्डले सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरेको गुनासो गरे। उनले जनताको चाहनाविपरीत पक्राउ पुर्जी जारी गरेर जनविरोधी कदम चाल्न खोजिएको आरोप लगाए।
ओली नेतृत्वको सरकारले २०७७ साल माघ २१ गते तीनबुँदे सहमति गरेर बिप्लबको पार्टीलाई शान्तिपूर्ण मूलधारको राजनीतिमा ल्याएको थियो।
अब प्रचण्डले पक्राउ पूर्जीको बिषयलाई के गर्छन् ? त्यो त हेर्न बाकी नै छ।