काठमाडौं । गोरखा जिल्लाका राजनीतिक दलले आगामी दिनमा गर्न सकिने कामको साझा संकल्पपत्र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा शनिबार गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले गोरखाका अध्यक्ष प्रेमबहादुर गुरुङले जिल्लाका सबै राजनीतिक दलले छलफल गरेर तयार गरेको संकल्पपत्र बुझाउनुभएको हो । एमालेको अगुवाइमा बसेको बैठकले साझा अवधारणपत्र बनाएको थियो ।
गोरखा जिल्ला धार्मिक, सांस्कृतिक पर्यटकीय हिसाबले गौरव गर्न लायकको जिल्ला भएको अवधारणापत्रमा उल्लेख छ । त्यसैले गोरखा जिल्लाको पर्यटन विकासमा जोड दिन राजनीतिक दलले माग गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको काम तीव्र रूपमा अधि बढाउनु पर्ने, मध्यपहाडी पुष्पलाल लोकमार्गको गोरखा जिल्लामा पर्ने ६३ किलोमिटरको काम गर्नुपर्ने कुरा एमाले अध्यक्षलाई स्मरण गराइएको छ । त्यस्तै पालुङटारलाई स्मार्ट सिटी बनाउने काम पनि अलमलमा परेको भन्दै राजनीतिक दलहरूले ओलीको ध्यानाकर्षण गराएका छन् ।
जिल्लाका विभिन्न सडकलाई व्यवस्थित गर्नुपर्ने, पर्यटन प्रवर्धनको कामलाई व्यवस्थित गर्नुपर्ने, गोर्खा बजारको उचित व्यवस्थापन गर्नुपर्ने, विभिन्न खानीहरूको खोज र उत्खनन गर्नुपर्ने लगायतका विषयमा गोरखाका राजनीतिक दलले ध्यानाकर्षण गराएका छन् ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।