मध्य चिसोमा मध्यपहाड पसेको एमाले र ओली क्रेज

मुलुकको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले मध्य चिसोमा गाउँ पसेको छ । ‘झुलाघाट– चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ नाम दिदै एमाले पुष्पलाल –मध्यपहाडी राजमार्गमा अभियान सहित यात्रा गरिरहेको छ । नेकपा एमाले यस्तो पार्टीका रुपमा पहिचान बनाएको छ कि , यो  १२ महिना ३६५ दिन कुनै न कुनै अभियान चलाएकै हुन्छ  । पार्टी अध्यक्ष केपी ओली स्वयम् दैनिक १८÷२० घण्टा देश , जनता र पार्टीका लागि खटिरहनुभएको पाईन्छ । त्यसैले समकालिन नेताहरुमा उहाँ अब्बल र आकर्षणको केन्द्रमा रहेर राजनेताको पहिचान बनाउनुभएको  छ । उहाँको नेतृत्वमा एमाले चलायमान छ । गत वर्षको आमनिर्वाचनपछि अन्य दलहरु सत्तास्वार्थमा काठमाडौमा रुमल्लिरहदा एमाले भने ‘मिसन ग्रसारुट’ अभियान चलाएर जनताबीच पुग्यो । २०७९ फागुनदेखि ०८० बैशाखसम्म तीनमहिना अभियान संचालन गरेर कार्यकर्ता र आमजनताबीच जोडिन पुग्यो एमाले । अहिले फेरी जनसम्बन्ध बलियो बनाउने , जनगुनासो सुन्ने र  प्रत्यक्ष संवाद गर्ने उद्धेश्यका साथ मध्यपहाडको यात्रा तय गरेको छ  । सुदूरपश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्मको करिब दुई हजार किमीको यात्रा तीनसातामा सम्पन्न गर्ने योजना छ । अध्यक्ष ओलीले झुलाघाटमा झण्डोत्तोलन गरेर शुरु भएको यो अभियानको क्रममा २६ जिल्लाका करीब ५० स्थानमा स्थानीयवासीसँग संवाद ,अन्तर्किर्या , भेला, सभा हुनेछन्  ।

अभियानको शुरुवातदेखि नै एमाले कार्यकर्ता मात्र होईन , शुभेच्छुकहरु पनि असाध्यै उत्साहित भएको देखिएको छ  । सुदूरपश्चिमका जिल्लामा भएको जनताको उपस्थिति , उत्साह र जनलहरले यसलाई पुष्टि गरेको छ । एउटा नविनतम अभियानका रुपमा एमालेले तय गरेको यो यात्रामा पार्टी अध्यक्ष स्वयम् जनआकर्षणको केन्द्र बनिरहनुभएको देखिन्छ  । एमाले अध्यक्ष केपी ओली आकर्षणको केन्द्रमा हुनुहुन्छ  । बैतडी , डोटी र अछाममा मात्र हैन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा समेत देखिएको उत्साहले अध्यक्ष ओलीको क्रेजलाई पुष्टि गरेको छ ।

अहिले यात्राका क्रममा ओलीको क्रेज बढेको देखिएको छ ।  तर जनताबीच बाहुल्य भएको पूर्वी पहाडमा पछिल्ला दिनमा जातीय र पहिचानको नाममा अस्थिर राजनीतिमा रोटी सेकाउनेहरु एकता खल्बल्याउन उद्धत छन् । जहाँ एमालेले सामाजिक सद्भाव र राष्ट्रिय यात्रा बिथोल्न अनेक षड्यन्त्र हुनसक्छन् भन्ने नेतृत्वले हेक्का राख्न जरुरी छ ।

२०७३ सालमा मेची–महाकाली अभियान संचालन गरेको नेकपा एमालेले यही मंसिर १४ गतेदेखि तीनसाता लामो अभियान शुरु गरेको छ । मंसिरमासको चिसोमा –मध्यपहाडी राजमार्ग केन्द्रित गरेको छ । पूर्वदेखि पश्चिमसम्मको यो यात्रा सुदूरपश्चिमको वैतडी जिल्लाको झुलाघाटदेखि पूर्वको पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ  । मंसिर १४ गते शुरु भएको यो अभियान पुष ५ गतेसम्म चल्नेछ  ।  ‘सम्बन्ध स्थानीय,सन्देश राष्ट्रियता’  भन्ने  यो अभियानको मूल थिम रहेको छ ।

यसअघि नेकपा एमालेले संचालन गरेको  ‘मिसन ग्रसारुट’ अभियानमा अधिकांश नेता कार्यकर्ताले जनता र पार्टीबीच दुरी बढेको ,जनताका आवाज सुन्न छाडेको र जनताको भावना र आवाज उठाएपछि त्यसको जगमा उभिएर यो अभियान थालनी भएको पाईन्छ  । यो मंसिर पुष महिनाको चिसोमा यति लामो यात्रा त्यसमाथि बिरामी पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेको सिंगो नेतृत्व यो अभियानमा संलग्न हुनु आफैमा अर्थपूर्ण छ नै । उमेर स्वास्थ्यका कारण पनि यो चिसो मौसममा पार्टी अध्यक्ष स्वयम् नेतृत्व गर्दै अत्यन्तै उत्साहका साथ यो यात्रामा निस्कनु आफैमा महत्वपूर्ण र सन्देशमूलक छ  । यो अभियानमार्फत एमालेले केही सन्देश दिन खोजेको छ  । नेपालमा कम्युनिष्ट आन्दोलनको मूलप्रवाहका रुपमा रहेको र नेकपाको लिगेसी बोकेको नेकपा एमालेले नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ औँ वर्षको महोत्सव मनाउँदैछ  । यो अभियानलाई पनि यही महोत्सवको एउटा अंग बनाएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल, पुष्पलालकै नामबाट नामाकरण गरिएको मध्यपहाडी राजमार्गमा यो अभियान संचालन गरेर आफूलाई पुष्पलालको मार्गमा हिड्ने पार्टी र पुष्पलालको असली उत्तराधिकारी पार्टी रहेको सन्देश प्रवाह गरेको छ।

त्यसैगरी, केन्द्रीय नेताहरुसँग जनताको दुरी बढ्दै गएको गुनासोलाई सम्बोधन गर्दै यो यात्राका दौरानमा सिंगो एमालेको नेतृत्वले जनतासँग प्रत्यक्ष संवाद गर्ने , दुःखसुखका कुरा सुन्ने, भलाकुसाली , छलफल र अन्तरक्रिया गर्दै जनताका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने उद्धेश्य लिएको छ । जसले जनतासँगको सम्बन्ध जीवन्त रहेको सन्देश दिन खोजेको छ । यसले भुँईमान्छेहरुसँग सँगसँगै रहेको र जनताको सम्मान र शहरी क्षेत्रमा बसाईसराईको चाप पहाडमै रोक्ने योजना केपी ओली नेतृत्वको नेकपा एमालेको सरकारकै दृष्टिकोण हो । जुन अहिले सुस्ताएको छ  । यसलाई पनि उजागर गर्नेछ , यो अभियानले । त्यसो त एमालेले २०७३ सालमा एमाले र केपी ओलीलाई मधेसमा निषेध  गरेको प्रचार गरिहँदा मेची– महाकाली यात्रा तय गरेको थियो । २०७० मा दोस्रो संविधानसभा निर्वाचनपछि सम्पन्न उक्त यात्राको परिणाम २०७४ सालमा एमाले संसदमा पहिलो दल बन्यो । अहिले ‘मिसन –०८४’ को अभियान चलाईरहँदा यो यात्रा तय भएको छ  । यो सफल भएमा स्वभाविक रुपले यसको प्रभाव आगामी निर्वाचनमा पर्ने  नै छ ।

अहिले पहाडबाट बसाईसराई तीव्र बनिरहेको छ । गाउँ रित्तिदै गएका छन्  , गाउँका खेतबारी बाझिदैछन् । यो बसाईसराई विकासका लागि चुनौतीको विषय बनेको छ  । विकास गाउँ पस्ने , मानिस शहर पस्ने अहिलेको परिदृश्य हो  । गाउँमा सडक पुगेको छ  ,  शिक्षा, स्वास्थ्यको बन्दोवस्त छ ,  सुविधा पुगेको छ, पुग्दैछ तर गाउँ रित्तिदैछन् ।  हिजो राम्रा विद्यालय थिएनन् , स्वास्थ्य केन्द्रहरु थिएनन् , बाटोघाटोको सुविधा थिएन , विकास पुगेको थिएन तर मानिसहरु थिए । अहिले स्थिति ठिक उल्टो देखिन्छ  । राम्रा विद्यालय छन्, विद्यालय भवनहरु छन् , विद्यार्थी छैनन् , विकास पुगेको छ , जनता छैनन् । एकहिसाबले भन्ने हो भने मर्दापर्दा मलामी पाउन मुश्किल छ , गाउँमा । शहर झर्न नसक्नेहरुका वालवालिका र बुढाबुढीहरु मात्रै गाउँमा भेटिन्छन् । पूर्वाधार पुग्ने तर जनता नहुने , पूर्वाधार र उत्पादन , पूर्वाधार र रोजगारी , प्रर्वाधार र गरीवी निवारणको विषयमा तालमेल मिलिरहेको देखिदैन । यो खोजी गर्दै , जनतासँग प्रत्यक्ष अनुभूति र अपेक्षा सुनेर अर्थ–राजनीतिक विकासको  यस्तो चुनौतीको जरा पहिल्याउन यो अभियान महत्वपूर्ण देखिन्छ । वर्तमान सरकार जनताका पक्षमा काम गर्न नसकिरहेको जनगुनासोका बीच प्रतिपक्ष दल नेकपा एमालेले जनताका बीचमा पुगेर उनीहरुका गुनासा , समस्या सुनेर जनताको पार्टी , एमाले नै हो भन्ने सन्देश प्रवाह हुनेछ  । यसले आगामी निर्वाचनमा  नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न मद्धत पुग्नेछ  ।

नेकपा एमाले नेतृत्वको सरकारलाई वलाट हटाईएपछि करीब अढाई वर्षमा देश राजनीतिक अस्थिरता , अन्यौलता र अराजकताको क्रमबाट गुज्रिरहेको छ । आर्थिक अवस्था निराशाजनक छ  । सरकार निकै कमजोर जगमा उभिएको छ, सरकार कमजोर र जनअपेक्षा अनुसार नचल्दा कतिपय प्रतिगामी शक्तिहरु सल्बलाईरहेका छन् , उनीहरुले टाउको उठाउन खोजिरहेका छन् । कतिपय यस्ता तत्वहरु धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर चलखेल गरिरहेका छन् । देशमा स्थिरता नचाहने, जनताको एकता नचाहने र देशको समृद्धि नचाहने शक्तिले जनताबीच द्धन्द मच्चाउन खोजिरहेको छ । जनताको आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि नै हमला भइरहेको छ  ।  तर सरकार यी विषयमा निकम्मा सावित भइरहेको भन्दै सरकारको आलोचना भइरहँदा त्यो स्पेस पनि एमालेले लिदै सरकारले गरेको वेथिति, अनियमितता र असफलता जनताबीच पु¥याउन यो अभियान एउटा अवसर बनेको छ ।

त्यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई जोगाउने र अझ बलियो बनाउने अभिभारा पनि एमालेको काँधमा आएको कुरा जनताका बीचमा बुझाउने परिवेश पनि एमालेका सामु अवसर बनेर आएको छ  । मध्यपहाडी भेगमा विकास कसरी अगाडी बढाउन सकिन्छ , बसाईसराई कसरी रोक्न सकिन्छ , युवाहरु किन विदेश पलायन भईरहेका छन्  , युवाहरुलाई देशमै रोक्नका लागि के कस्ता नीतिहरु लिनु पर्ने हो , त्यसका लागि स्थानीयस्तरमा जनतासँग प्रत्यक्ष संवाद गर्दै राष्ट्रको ध्यानाकर्षणका लागि यो अभियान फलदायी बन्नेछ । यसले मुर्झिएको पहाडलाई ब्युँझाउने र गुल्जार बनाउन एक महत्वपूर्ण कोशेढुंगा सावित हुन सक्छ ।

त्यस्तै पहाडमा केही हुँदैन भन्ने मनोविज्ञानलाई चिर्दै नेपाल सवल र समृद्ध बन्न सक्छ , हामी गर्छौ र सक्छौ भन्ने आत्मविश्वास अभिवृद्धि गर्दै मध्यपहाडमा आशाको संचार गराउने कार्य पनि यो अभियानले गर्नेछ  । यी सबै कुराले नेकपा एमालेले अघि सारेको मिसन –०८४  योजनालाई  एउटा आधारशीला बन्ने देखिन्छ । यो अभियानले पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान गर्ने, कुनै कालखण्डमा बाटो बिराएर अरुतिर लागेका नेता कार्यकर्तालाई मूलघरमै फर्कन एउटा वातावरण निर्माण गर्नेछ , जुन कुरा वैतडीबाट शुरु भइसकेको छ । एमालेले यो अभियानमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने , सहकार्य गर्ने , जनतासँग संकल्प गर्ने र समृद्धिका लागि एमालेले गर्न चाहेको काम बारे अन्तर्क्रिया गर्ने कार्यले मध्यपहाडबासीमा आशाको संचार ल्याउनेछ  । २६ जिल्लाका करीब ५० औँ ठाउँमा हुने स्थानीयवासीसँगको भेटघाट , भेला , अन्तर्क्रिया र एमालेले समाजमा आशावादी , आत्मविश्वास र सकारात्मक मनोविज्ञान निर्माण गर्न सक्यो भने एमालेको यो अभियान एमालेका लागि मात्र नभएर आम जनता  र देश विकासका लागि एउटा कोशेढुंगा सावित हुनेछ ।

adb bank long