nepal telicom

जब एमाले सरकारबाट हट्छ, तब हत्या हिंसाको श्रृङ्खला सुरु हुन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्ने नाममा मानिस मार्ने घिनलाग्दो संस्कृति विकास भएको बताउनुभएको छ ।

समृद्धिको लागि संकल्प यात्रामा निस्किनु भएका ओलीले आइतबार अछामको विनायकमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव जित्नको लागि मानिस मार्न समेत पछि नपर्ने संस्कृति अपराध मात्र नभएर अति घिनलाग्दो संस्कृति भएको बताउनुभएको छ । ‘एउटा मान्छे मारेर चुनाव जित्ने संस्कृति भनेको घिनलाग्दो हो’, उहाँले भन्नुभयो ।

ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद शाहीलाई बेपत्ता बनाइ हत्या गरिएकोमा खेद व्यक्त गर्नुभयो । एउटा होनहार युवाको हत्या गरेर अत्यन्तै घिनलाग्दो काम गरिएको ओलीले बताउनुभयो । ‘म विनोद शाहीलाई सहिद घोषणा गर्दछु’, ओलीले भन्नुभयो ।

अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ का १५ वर्षीय विनोद ०७९ जेठ २१ गते मृत अवस्थामा भेटिएका थिए । जेठ १७ गते बेपत्ता पारिएका अनेरास्ववियुका कार्यकर्ता विनोदको शव जेठ २१ गते भिरबाट खसालिएको अवस्थामा फेला परेको थियो ।

ओलीले सरकामा हुँदा पनि एमालेले यस्ता कुरालाई हतोत्साहित गरेको बताउनुभयो । ‘हामी सरकारमा हुँदा यस्ता कुरा हुन पाउँदैन, जब हामी सरकारबाट हट्छौँ तब विभिन्न हत्या हिंसाका शृङ्खलाहरू सुरु हुन्छन्, जाली मुद्दा लगाउने सिलसिला सुरु हुन्छ, हत्यारा उम्काउने सिलसिला सुरु हुन्छ’, ओलीले भन्नुभयो ।

पञ्चदेवल जस्तो पवित्र ठाउँ कुनै पनि अपराध गर्ने र अपराधी लुक्ने ठाउँ हुनु नहुने ओलीले बताउनुभयो । यसको लागि स्थानीयलाई सतर्क र सजग हुन पनि उहाँले आग्रह गर्नुभयो ।

अहिलेको सरकारले हत्यारालाई माफी दिने र मुद्दा चलाउन नमान्ने र चलाई हाल्यो भने पनि मुद्दा फिर्ता लिने काम गरेको ओलीले बताउनुभयो । अदालतले सर्वश्व हरण सहित जन्म कैद गरेकालाई तुरुन्त मुद्दा फिर्ता लिने काम सरकारले गरेको भन्दै ओलीले आलोचना गर्नुभयो । ‘अहिले धमाधम अदालतले त्यस्ता मुद्दा फिर्ता लिन पाउँदैनौ भनेर फेरी जेलमा हालिराखेको छ’, ओलीले भन्नुभयो । नेकपा एमालेले सुदूरपश्चिम बैतडीको झुलाघाटबाट मध्यपहाडी पुष्पलाल लोकमार्गलाई आधार बनाएर पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिको लागि संकल्प यात्रा सुरु गरेको छ । यात्राका क्रममा मध्यपहाडको समस्या र विकासको सम्भावना पहिचान गर्ने एमालेले जनाएको छ ।

adb bank long