रेशम चौधरीसँग जोडिएको मुद्धा आज पनि ‘हेर्न नभ्याईने’मा

Telecom

काठमाडौ। टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय समेत भोगेका रेशम चौधरीलाई सरकारले माफी दिएपछि त्यसविरुद्ध परेको रिट निवेदन आज पनि ‘हेर्न नभ्याइने’ मा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासको पहिलो नम्बरमै पेसी चढेको भए पनि हेर्न नभ्याइनेमा राखिएको हो ।

टीकापुरमा रेशम चौधरीको संलग्नतामा नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहरासहित आठ जनाको हत्या भएको ठहर भएको थियो । सरकारले उनै चौधरीलाई कैद मिनाहा गरेपछि इन्स्पेक्टरकी श्रीमती शारदा कडायतसहितले कात्तिक २१ गते पुनः निवेदन दिएकी थिइन् । उक्ति निवेदनमाथि अहिलेसम्म चार पटक पेसी चढेर पनि सुनुवाइ हुन सकेको छैन ।

आज भने न्यायाधीश चुडाल अर्को इजलासमा व्यस्त भएकोले हेर्न नभ्याइनेमा परेको सर्वोच्च प्रशासनले जनाएको छ । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायत असोज ३ गते कैद माफी पाएर रिहा भएका थिए ।

२०७२ भदौमा कैलालीको टीकारपुरमा ८ सुरक्षाकर्मी र एक दूधे बालकको ज्यान जाने गरी भएको उक्त हत्याकाण्डमा जन्मकैद सजाय सुनाइएका रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा पाएर गत जेठ १५ गते नै छुटेका थिए ।
रेशम चौधरीको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी टीकापुर घटनामा श्रीमान् गुमाएकी शारदा कठायतले गत जेठ १६ गते नै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । हत्याकाण्डमा दोषी ठहर भएका व्यक्तिलाई माफी दिएको भन्दै सरकारको आलोचना भइरहेको छ ।

यसअघि यस्तै प्रकृतिको चेतन मानन्धरको मुद्धामा सर्बोच्चले आममाफी बदर गरेपछि हत्यामा प्रमुख अभियुक्त योग ढकाल(रिगल) कैद भुक्तानका लागि पुन जेलमा फर्किएका छन् ।

adb bank long