काठमाडौ । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पश्चात त्यसका परकम्प अहिलेसम्म पनि गइरहेको छन् । आइतबार समेत परकम्प गएको छ । भूकम्प प्रभावितको आवासको व्यवस्था अझै अलपत्र नै छन् । सुरक्षित आवास नहुँदा चिसोले १० जना भूकम्प प्रभावितहरुको ज्यान गइसकेको छ । यस्तो अवस्थामा सरकार र राजनीति दलहरु के गर्दैछन् ? अहिलेसम्म कहाँ कति क्षति भएको छ त ?
जाजरकोटमा चिसोका कारण थप ३ जना भूकम्प पीडितको मृत्यु भएको छ । चिसोका कारण शनिबार थप तीन जना भूकम्प पीडितको मृत्यु भएसँगै चिसोबाट ज्यान गुमाउने भूकम्प पीडितको संख्या १० पुगेको छ ।
गत कार्तिक १७ गते गएको भुकम्पका कारण घर भत्किएपछि त्रिपालमा बसोबार गर्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी र भेरीनगरपालिका वडा नं ४ तल्याउनका केशव भडेलको मंसिर २ गते मृत्यु भएको हो । यसअघि बारेकोट गाउँपालिका–१ रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४ जिरीका, नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका–४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड ४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालिका बयालाका ६० वर्षीय कर्णवीर विक र बारेकोट ६ ताँसीका ५५ वर्षीय वीरबहादुर विकको मृत्यु भइसकेको छ ।
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा गरी १५४ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए । त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भइरहदा सरकार र नेताहरु भने राहतको राजनीतिमै सीमित देखिन्छन् ।