पोखरा । नेपालस्थित चिनियाँ दूतावासले आगामी ९ मंसिर (२५ नोभेम्बर)मा पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन क्रस–क्रन्ट्री प्रतियोगिता गर्दैछ ।
यो प्रतियोगिताका लागि पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड पनि आयोजक छन् । यसको मुख्य आयोजक नेपालस्थित चिनियाँ दूतावास हो । रोचक त, प्रतियोगिताका खेलाडी विमान नै चार्टड गरेर चीनबाट ७ मंसिरमा पोखरा ओर्लंदै छन् । हिमालय एअरलाइन्सले चीनका ७४ खेलाडीसहित १०४ जनालाई पोखरा ल्याउने छ । यो प्रतियोगिताको आयोजनादेखि प्राविधिक जिम्मेवारीमा पोखराका संघसंस्थालाई राखिए पनि चीनबाटै छुट्टै टोली आउँदै छ । यही प्रतियोगिताका लागि १७ जना स्वास्थ्यकर्मी चीनबाटै आउँदै छन् । दूतावासले चिनियाँ समाचार एजेन्सी, टेलिभिजन पनि पोखरा ल्याउँदै छ ।
यो प्रतियोगिताको सहआयोजक चीनकै यूनान माउन्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएसन र होटल संघ पोखरा छन् । सहयोगीमा १३ संघसंस्था रहेकोमा ९ वटा त चीनकै छन् । चीनका प्रान्तीय सरकार, नेपालस्थित चिनियाँ दूतावासनिकट पोखराका मिडिया उद्यमी विश्वशंकर पालिखे संयोजक रहने गरी यो कार्यक्रम हुँदैछ । चिनियाँ इनर्जी ड्रिन्क ‘वार हर्स’ यो कार्यक्रमको मुख्य प्रायोजक हो ।
चीनले पोखरामा पाँच महिनाको अन्तरालमा ठूलो प्रतियोगिता गर्न लागेको दोस्रोपटक हो । यसअघि चीनले पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्डसँग मिलेर गत ८ असारमा ‘ड्रागन बोट रेस’ फेस्टिबल गरेको थियो । चीनले प्रतियोगिता गर्न लागेको थाहा पाएपछि भारतले पोखरा रंगशालामा त्यही दिन ‘योग शिविर’ आयोजना गरेको थियो ।