nepal telicom

टी – २० : नेपालले जापानलाई ६७ रनले हरायो

काठमाडौं । हङकङमा जारी चार देशीय महिला टी-ट्वेन्टी आई सिरिजको आजको खेलमा नेपालले जापानलाई ६७ रनले हराएको छ । एक सय १४ रनको लक्ष्य पछ्याएको जापान ४६ रनमै समेटिएपछि नेपालले सिरिजमा पहिलो जित दर्ता गरेको हो ।

हङकङ क्रिकेट क्लबको मैदानमा जापानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । पूरा २० ओभर खेलेको नेपालले चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । नेपाली टिमको ओपनिङमा पूजा महतो र सीता राना मगरले १९ रनको मात्र साझेदारी गर्न सके । ९ रन बनाएकी सितालाई एल्ना कुसुदा नैरनले बोल्ड गरिन् । १३ रन बनाएकी पूजालाई आयुमि फुजिकावाले एलबिडब्ल्यु आउट गराएकी थिइन् ।

कप्तान इन्दु वर्मा र रुविना क्षेत्रीले ४८ रनको साझेदारी गरेर इनिङ उकासेका थिए । २७ रन बनाएकी इन्दु वर्मा १८ औं ओभरमा क्याचआउट भएकी थिइन् । रुविनाले भने ३२ बलमा ३८ रनको योगदान दिइन् । आक्रामक इनिङ खेलेकी रुविनालाई नैरनले बोल्ड गरेकी थिइन् । पाँचौ नम्बरमा मैदान पसेकी काजलले सात बलमा १५ रन बनाएर फिनिसिङ गरेकी थिइन् । जापानकी नैरनले दुई तथा फुजिकावा र मेग ओगावाले समान एकएक विकेट लिए ।

जवाफमा नेपाली बलरले किफायती र घातक बलिङ गरे । ‌ओपनर अकारी निशिमुरा शून्यमै आउट भइन् । हाइनालेले ३, अहिल्या चन्डेलले २, कप्तान माइ यानागिडाले एक रन जोडेका थिए । जापानको स्कोरसिटमा १३ रन बनाएकी सेइका सुमिलाई संगीता राईले बोल्ड गरिन् । मेग ओगावाले सर्वाधिक १७ रन बनाइन् । बाँकी खेलाडीले पनि बिर्सन लायक प्रदर्शन गरे । नेपालकी अश्मिना कर्माचार्यले चार विकेट लिँदा सङ्गीताले तीन विकेट लिइन् । पूजा महतोको नाममा दुई विकेट रह्यो।

नेपाल र जापानले पहिलो खेलमा तान्जानिया र दोस्रो खेलमा आयोजक हङकङसँग हार बेहोरेका थिए । तान्जानियासँग २७ रनले पराजित नेपाल हङकङसँग ९ विकेटले हारेपछि फाइनल पुग्ने सम्भावना पनि समाप्त भएको थियो ।

उपाधि लक्ष्यसाथ सिरिजमा सहभागी नेपालले भोली तेस्रो स्थानको लागि जापानसँग नै खेल्नेछ । आजै पौने १२ बजे तान्जानियाले हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

adb bank long