कडा अनुशासनमा बस्नुपर्ने मुलुकको सार्वभौमसत्ता र अखण्डताको रक्षाका निम्ति अन्तिम शक्तिको रुपमा रहने नेपाली सेना जस्तो संगठन पछिल्लो पटक विभिन्न विवादमा तानिएको छ । जुन गम्भीर चिन्ता र चासोको विषय हो । सुरक्षा क्षेत्रमा थप विश्वासिलो, भरपर्दो र व्यवसायिक बन्नुपर्ने नेपाली सेना जन्म, सेवा प्रवेश र शैक्षिक योग्यताका कागजात शंकास्पद हुनुका किर्ते भएको विवाद पछिल्लो पटक चर्चामा छ । खासगरी कर्णेल (महासेनानी) र त्यसमाथिका सैनिक अधिकृतहरु कतिपय यस्ता विवादमा तानिएपछि सिंगो सैनिक संगठन नै विवादमा परेको छ । यस्ता विवादका विषयले एउटा सैन्य संगठनलाई कस्तो असर पुर्याईरहेको छ ? बाहिर कस्तो सन्देश गईरहेको छ ? सेनाको ‘ईमेज’ कस्तो बनाईरहेको छ ? भन्ने नेपाली सेनाको परमाधिपतिका रुपमा रहने राष्ट्रपति, रक्षामन्त्री, रक्षासचिव र सैनिक नेतृत्व गरिरहेका प्रधानसेनापति जस्ता जिम्मेवार उच्चपदस्थहरुले बुझ्नुपर्ने कुरा हो । एउटा सत्य कुरा के हो भने उच्चपदस्थहरुको यी र यस्ता विषयमा गम्भीर ध्यान पुगेको देखिदैन । यो तीतो यथार्थता पनि हो ।
अहिले उपरथी ताराध्वज पाण्डेको उमेर विवाद, प्रामाणपत्र र राजीनामा प्रकरणले सेनालाई विवादमा तानेको छ । भावी प्राधानसेनापतिका प्रवल दावेदारका रुपमा उपरथी पाण्डे रथीका लागि सिफारिस भईसकेका उच्च ओहदाका अधिकृत हुन् । उनी विवादमा नतानिएको भए वर्तमान प्रधानसेनापति प्रभुराम शर्मापछिको स्वाभाविक प्रधानसेनापति बन्ने लाईनमा थिए । तर सिफारिस भएर रथी (तीन तारे जनरल) हुन नपाई उनले बीचैमा अप्रत्यासित र अस्वभाविक बहिर्गमन हुनुपर्यो । जुन कुरा पाण्डे स्वयमले केही दिन अघिसम्म सायदै सोचेका थिए होलान् । उनको राजीनामा प्रकरणले मुख्यतः दुईवटा विषय वहसमा ल्याईदिएको छ ।
अहिले प्रश्न उब्जेको छ पाण्डेको नागरिकतामा कैफियत छ भन्ने जान्दाजान्दै पनि सैनिक नेतृत्वले नै जोगाएर उनलाई अहिलेसम्म किन राख्यो ? रथीका लागि किन बढुवा सिफारिसको तामझाम गरियो ? त्यसभन्दा पनि अर्को महत्वपूर्ण विषय एक वर्ष नौ महिना अघि नै घर जानुपर्ने उच्च अधिकृतलाई राज्यले यतिबेलासम्म गरेको खर्चको दुरुपयोगको जिम्मेवारी लिने कि नलिने ? कसले लिने ? स्वभाविक छ, यसको जिम्मेवारी सैनिक नेतृत्व र उनी स्वयमले लिनुपर्छ । यो प्रकरणले प्रधानसेनापति शर्मामाथि पनि नैतिक प्रश्न उठेको छ । यद्यपि पाण्डेको राजीनामा मन्त्रीपरिषद्ले स्वीकृत गरिसकेको औपचिरक निर्णय बाहिर आएको छैन । रक्षामन्त्रालय र नेपाल सरकारले पाण्डेको राजीनामा स्वीकृत गर्दा यो विषयको निरुपण गर्नुपर्ने देखिन्छ । र, साथसाथै आगामी दिनमा यस्ता घटनाहरु दोहोरिन नदिन प्रभावकारी संयन्त्र वा भरपर्दो र विश्वासनीय छानविनको जरुरी छ ।
नेपाली सेनाको ईतिहास केलाउने हो भने सरुवातीदेखि नै नेतृत्वका लागि थापा र कुँवरहरुबीच हानथाप, चलखेल र चालवाजी हुँदै आएको देखिन्छ । जुन कुरा यो या त्यो ढंगबाट आज पर्यान्त उक्त कार्य वा शैली भनौं जारी रहेको जानकारहरु बताउँछन् । नेपाली सेनाको प्रधानसेनापतिका लागि उम्दा अधिकृतहरुलाई तलैदेखि ग्रुमिङ गर्ने अभ्यास छ । तर चर्को चलखेल भने सहायक रथी, उपरथी र रथी बनाउँदा हुने गरेको यथार्थतता छ । कतिपय परिवेशमा कुनै न कुनै वाहनामा नेतृत्वले काखी नच्यापेको उच्च अधिकृत बढुवाको लाईनमा रहेपनिबीचैमा अप्रत्याशित ढंगले घर जानुपर्ने अवस्था नभएको होईन । किनकी नेपाली सेनाको भावी नेतृत्वका लागि वहालवाला प्रधानसेनापतिको आशिर्वाद आवश्यक हुन्छ नै । अरु सुरक्षा अंगमा भन्दा सेनाको प्रमुख निकै शक्तिशाली हुन्छन् । उनको हातमा यस्तो पावर हुन्छ कि बढुवा हुन लागेको अधिकृत मन पर्न भने ‘टाईम किल’ गरिदिएर मौन बसी उसलाई घर पठाईदिन सक्छन् । तर कतिपय परिस्थिति यस्तो बनिदिन्छ कि प्रधानसेनापतिभन्दा समय वलवान भईदिन्छ । पछिल्लो पटक पाण्डेको राजीनामा प्रकरण एउटा दृष्टान्त हो ।
रथी (तीन तारे जनरल) बन्ने लाईनमा रहेका उपरथी (दुई तारे जनरल) ताराध्वज पाण्डे र अशोक सिग्देल मध्ये जो पहिला रथीमा बढुवा भयो उही प्रधानसेनापतिका लागि स्वभाविक दावेदार हुन्थे । केही समय अघिसम्म सिग्देल प्रधानसेनापति शर्माका लाईक माईन्डेड जर्नेल थिए- सिग्देल । तर पछिल्लो समय परिस्थितिमा बदलाव आयो र शर्माको रोजाईमा परे- पाण्डे । बजारमा चलेका चर्चा र आशंकाहरुलाई वेवास्ता गर्ने हो भने पनि प्रधानसेनापति शर्माले पाण्डेलाई रथीमा बढुवा गर्न निकै दवाव दिएको चर्चा बाहिर आएको छ । प्रमाणपत्रहरु शंकास्पद हुँदाहुँदै पनि प्रधानसेनापति शर्माको पाण्डेलाई बढुवा गर्ने हतारो र बजारका चर्चाबीच कहि न कतै साईनो छैन भन्न सकिदैन । यद्यपी प्रधानसेनापतिको दरिलो साथ र आड भरोसा पाएपनि उल्टो पासा पल्टिएपछि पाण्डे बढुवा होईन कि घर जानुपर्ने दिन आयो ।
राजीनामा दिईसकेका पाण्डेका विषयमा धेरै चर्चा परिचर्चा गर्नु त्यति वाञ्छानीय देखिदैन । उमेर विवाद र शंकास्पद प्रमाणपत्रका कारण बीचमै पाण्डे घर गएपछि कात्तिकमा अवकास पाएका वलाधिकृत रथी सरोजप्रताप राणाको ठाउँमा अर्का उपरथी अशोक सिग्देलको बढुवा हुने प्रवल सम्भावना छ नै । प्रधानसेनापति शर्माको योजना सफल भएको भए राणाको ठाउँमा पाण्डे र आगामी पुषमा अर्का रथी सीताराम खड्का अवकास भएपछि खड्काको ठाउँमा सिग्देल बढुवा हुन्थे । तर अहिले परिस्थिति बदलिएको छ । त्यसैले पाण्डेको राजीनामापछि सिग्देल रथीका लागि स्वभाविक र मुख्य दावेदार बनेका छन् । तर पाण्डेको विवाद उत्कर्षमा पुगेको बेला सिग्देललाई पनि उमेर सम्बन्धि विवादमा तानेर फेरी सेनामा विवाद ल्याउन खोजेको देखिदैछ । यदि सिग्देलको उमेर सम्बन्धि विवाद सैनिक नेतृत्वले समयमै यो विवादको निरुपण गर्नपर्दछ । विवाद छ भने यथोचित निर्णयमा पुग्नैपर्छ । पाण्डेको उमेर विवादमा सैनिक नेतृत्व चुकिसकेको छ यसले सेनाको विश्वासनियता माथि प्रश्न उठेको छ । जुन पाण्डेको उमेर विवाद सम्बन्धी सेनाको विज्ञप्ती आयो त्यसले । तर अब अनावश्यक र अनर्गल प्रचार गरेर ईगो साँच्ने काम मात्र हुन गयो भने यसले सिंगो सैनिक संगठनमाथि नै आघात पुर्याउँछ ।
एकातिर जसरी अप्रसांगिक रुपमा सेनामा संख्या घटाउने वा त्यस्तै विवाद ल्याएर नेपाली सेनालाई कमजोर बनाउने, सेनाको साख गिराउने र सेनाको गौरवमय गाथाको चिरहरण गर्ने शैलीमा अक षडयन्त्र भईरहेका छन्, त्यसलाई सघाउ पुर्याउन सिग्देलमाथि पनि यस्ता गलत आक्षेप र अनर्गल प्रचार गरेर सेनालाई कमजोर बनाउने उदृत छन् भने अर्कातिर सिग्देललाई पनि विवादमा तानेपछि केही समय सेनाभित्र खेल्न सकिन्छ । अहिलेसम्म वाह्य शक्ति पस्न नसकिरहेको एउटा शक्तिशाली अंगमा वाह्यशक्तिलाई निमन्त्रणा दिन सकिन्छ भन्ने लुपत र देशद्रोही मनसुवा लुकेको छैन भन्न सकिदैन । तसर्थ मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको जिम्मा लिएको शक्तिलाई हतियार र वौद्धिक रुपमा सुसज्जित बनाईराख्न पाण्डेको राजीनामा स्वीकृत गरी यथाशाक्य छिटो रथीमा बढुवा प्रकृया सुरु गरेर अन्य तत्व खेल्न नदिन राष्ट्रपति, रक्षामन्त्री, रक्षासचिव र प्रधानसेनापतिले गम्भीर भएर सोच्ने बेला आएको छ । यदि सुरक्षाका अन्य अंग जस्तै नेपाली सेना पनि त्यही अवस्थामा पुर्याउने अहिले जे खेल भईरको छ, त्यो हुनपुग्यो भने त्यो कलंकको टीका राष्ट्रपति रामचन्द्र पौडेल, रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मा निधारमा लागिरहने छ । त्यसैले त्यसो हुन नदिन बेलैमा गम्भीर भएर अघि बढ्न जरुरी छ ।
नेपाली सेनामा उमेर सम्बन्धी विवाद र शंकास्पद प्रमाणपत्र सम्बन्धी विवाद निरुपण गर्न अब ढिलो गर्नुहुँदैन । पहिला पनि यस्ता विवाद हुन्थे तर सामसुम पारियो । जसले गर्दा यो बल्झिने रोग जस्तै बन्न पुग्यो । यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना भित्रका शंकास्पद शैक्षिक प्रमाणपत्र र नागरिकता सम्बन्धी छानबिन अघि बढाएको व्यापक प्रचार गरे तर उनी निकट अधिकृतहरू तानिन थालेपछी यो अभियान तुहाईयो। पाण्डेका सन्दर्भमा पनि त्यसबेला यस्तै भयो । तत्कालिन प्रधानसेनापति थापाले निष्पक्ष भएर यो अभियान चलाएर छानबिन गरि सबै टुङ्गोमा पुर्याई निरूपण गरेको भए अहिले सेना भित्र यस्तो अबस्था आउदैनथ्यो।
अब यसलाई आन्तरिक सुशासन र वाह्य सुधारका दृष्टिले पनि निरुपण गर्न टड्कारो आवश्यकता देखिएको छ । नेपाली सेनामा ‘उमेर विवाद’ पाण्डेको पहिलो घटना भने होईन । पटक-पटक उमेर विवादका घटना चर्चामा आईरहन्छन् । सेनामा कहिले आर्थिक अनियमिततताका विषय, कहिले बढुवाका विषय, कहिले ‘कमर्शियल आर्मी’ का कुरा त कहिले राजनीतिककरणका कुरा बेलाबखत चर्चामा आईरहन्छन् । पछिल्लो पटक सहायक रथी यामबहादुर अधिकारीको गैर कानुनी पदावधि थपको विषय विवादस्पद बन्न पुग्यो । अहिले उमेर विवाद चर्चामा छ । रथी बढुवामा आफूले ईच्छाईएको व्यक्ति ल्याउने र भविष्यमा प्रधानसेनापतिको रोल क्रममा राख्ने नेतृत्वको ‘ईन्ट्रेस्ट’ रहँदै आएको छ । यो कसैबाट छिप्न सक्दैन । हो, यसैसँग जोडिन्छ, उमेर विवाद । विशेषतः महासेनानी हुँदै सहायक रथी अर्थात जर्नेल तहमा पुगेपछि र बढुवाका बेला यस्ता विवाद सतहमा आउने गरेका छन् । र, चर्चामा आउँछन् । पाण्डे अघि प्रेम शाही पनि शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा जन्ममिति फरक हुँदा विवाद हुँदै सैनिक हिरासतसम्म पुग्नु पर्यो । शाही प्रकरणमा पाण्डे नै हर्ताकर्ता थिए ।
पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि पनि केरमेट गरेर जन्ममिति घटाएको आरोप लागेको थियो । त्यस्तै पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाल पनि उमेर विवादमा तानिएका थिए । कटुवालले हुकुम प्रमांगीबाट चार वर्ष उमेर घटाएको विषय सर्वोच्च अदालतमा मुद्दा परेको थियो । अधिवक्ता दिलहरी शर्माले सर्वोच्चमा रिट हालेका थिए । सहायक रथी हेम खत्री पनि यस्तै विवादमा बर्खास्तगीमा परेका थिए भने उपरथी प्रेम प्रकाश थापामगर पनि बीचमै बर्खास्तगीमा परे । सहायक रथी ज्ञानेन्द्रजंग रायमाझी मात्र होईन पूर्वप्रधानसेनापति धर्म पालवर सिंह थापाका छोरा उपरथी अतिजवर सिंह थापा र पूर्वप्रधानसेनापति रुक्मांगत कटुवालका छोरा सुक्मांगत कटुवाल पनि यस्तै विवादमा परेपछि राजीनामा दिएर बाहिरिए । यस्तै उपरथी दीपर भारती र सहायक रथीद्वय सूर्य खनाल र सुदर्शन राणाले पनि बीचमै अवकास पाए ।
पछिल्लो समय केहो उच्च अधिकृतहरुको उमेर विवाद चर्चामा छ । एक पूर्व सैनिक अधिकारीका अनुसार यस्ता विवाद संगनभित्रकै कमाण्ड चेनको संरक्षणमा रहेसम्म विवाद हुँदैन बाहिर आउँदैन । संरक्षण नहुँदा बाहिरिन्छ र विवाद देखिने गर्छ । त्यस्तै नेतृत्व परिवर्तनपछि पनि यस्ता विवाद देखा पर्ने गर्छन् । संगठनमा तालमेल नमिल्दा यस्ता विवाद बाहिर आउने गर्दछन् । जे होस् यस्ता विवाद देखिनु बाहिर आउनु नेपाली सेनाको गौरव र छविका लागि सुखद मान्न सकिदैन । तसर्थ नेतृत्वले यस विषयमा बेलैमा उपर्युक्त कदम चाल्न अपरिहार्य देखिन्छ । अहिले सिंगो नेपाली सेना अर्थात् संस्थालाई बदनाम गर्न अनेक प्रपञ्च भईरहेका छन् । राज्यका सबै अंग निकै कमजोर बनाईएको छ । चाहे कार्यपालिका वा व्यवस्थापिका । न्यापालिका त्यस्तै अवस्थामा पुर्याईएको छ । सर्वोच्चमा समेत लामो समय नेतृत्व नै कामुका भरमा चल्ने, लामो समयसम्म न्यायधीशहरु नै नियुक्त नगर्ने र विश्वासनीयता मै प्रश्नचिन्ह उठाउने कार्य भईरहेका छन् । संवैधानिक अंगका रुपमा रहेका आयोगहरु एकपछि अर्को गर्दै पंगु जस्तै बनाउने कार्य भईरहेको छ ।
सुरक्षाका अंग नेपाल प्रहरी र सशस्त्र प्रहरी चरम राजनीतिककरणको शिकार बनिरहेका छन् । अहिलेसम्म आफ्नो साख, गौरव र विश्वासनीयता जोगाउँदै बसेको नेपाली सेनामाथि यो वा त्यो कोणबाट प्रहार गरेर कमजोर बनाउन खोज्नेहरु उदृत छन् । सन्दर्भ वरिष्ठ उपरथी ताराध्वज पाण्डे विवाद पर्नु वा राजीनामा दिनु होईन प्रवृत्तिको हो । कुरा अशोक सिग्देलको पनि होईन, गाँठी कुरा त नेपाली सेनामा एक वर्षपछि ४५औं नयाँ प्रधानसेनापति को बन्ने भन्ने हो । जुन विषयसँग धेरै विषय जोडिन्छन् । र, आन्तरिक र वाह्य चासोको विषय बनेको छ । सिग्देलमाथि पनि विवाद ल्याएर संस्थामाथि नै प्रहार गरिदैछ । यस विषयमा आफूमाथि उठेका प्रश्नलाई लिएर सिग्देलले पनि समयमै ‘दुधको दुध, पानीको पानी’ बनाउनुपर्छ । साथै प्रधानसेनापति शर्मा र रक्षा मन्त्रालयले पनि थप गिजोल्ने समय नदिए समयमै निकास दिनुपर्छ ।
नेपाली सेनाको ईतिहासमा रथी पद लामो समयसम्म रिक्त रहेको देखिदैन । लामो समय रिक्त रहँदा आन्तरिक जीवनमा असर पुग्ने बताईन्छ । एउटा पद १२ कात्तिकदेखि रिक्त छ अर्को पद आगामी ३ पुषदेखि रिक्त हुँदैछ । पाण्डेको राजीनामापछि वरिष्ठ उपरथी सिग्देल र त्यसपछि उपरथी निर्मल कुमार थापा बढुवाको लाईनमा छन् । त्यस्तै उपरथी सन्तोष ढकाल, उपरथीमा बढुवा सिफारिस भएका सहायक रथी सन्तोष बल्लभ पौडेल, पवनकुमार घिमिरे, चोक बहादुर ढकाल, अनुपजंग थापा, मधुकर कार्की, यामबहादुर अधिकारी वरिष्ठ सहायक रथीका रुपमा छन् । कतिपय शक्ति सिग्देलदेखि पौडेलसम्मलाई विवादमा तानेर आफू अनुकुल व्यक्तिलाई शर्मापछिको प्रधानसेनापतिको रोलक्रममा राख्न सकिन्छ कि भनेर चलखेलमा लागेको चर्चा पनि व्याप्त छ । सेनाभित्र अधिकृतहरुको कागजात कैफियत भए नभएको छानविन र परीक्षण विश्वासिलो ढंगले गरेर वारम्बार देखिने रोगको उपचार गर्नुपर्ने आवश्यकता देखिएको छ । यसले सेनाको कद उँचो बनाउनेछ । होईन भने सेनाभित्र हुने अस्वस्थ खेल देशको एक मात्र स्थिर शालिन केन्द्रका रुपमा चिनिने नेपाली सेना वा यो संस्थाका लागि र व्यवसायिकताका लागि हानिकारक र दुर्भाग्यपूर्ण हुनेछ ।
नेपाली सेना जस्तो संस्थामा यस्ता चलखेलहरु प्रभावी हुन थाले भने भोली यो संस्थाको गौरवपूर्ण ईतिहास, यसप्रतिको विश्वास कहाँ पुग्ला ? चासो, चिन्ता र चुनौतीको मुख्य विषय यो हो । त्यसैले यसलाई गहनका साथ लिएर नेपाली सेनालाई अक्षुण राख्दै यसको गौरव, विश्वास र भरोसालाई जोगाउँदै सेनालाई बलियो र प्रभावकारी बनाउन अहिलेको सैनिक नेतृत्व र यससँग जोडिएका जिम्मेवार उच्चपदस्थहरुको अहम् जिम्मेवारी हो ।