nepal telicom

सूर्य उपासनाको पर्व छठ सुरु , आज ‘नहा खाय’ मनाइँदै

जनकपुर । सूर्य उपासनाको पर्व छठ आजदेखि सुरु भएको छ । चार दिनसम्म मनाइने छठको पहिलो दिन आज व्रतालुहरू नुहाएर चोखो हुन्छन् ।

आजको दिनलाई अरवा अरवाईन वा नहाए खाए भनिन्छ । दोस्रो दिन शनिवार खरनाअन्तरर्गत उपवास बसी साँझ चन्द्रमालाई साक्षी राखेर सूर्यलाई आहृवान गरिन्छ । तेस्रो दिन आइतबार पर्वमा प्रयोग हुने विभिन्न किसिमका परिकारहरू घरमै बनाएर साँझ पवित्र जलाशयमा गएर पूजाआजा गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य दिने चलन छ । यसलाई ‘संझियाघाट’ भनिन्छ । अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ व्रत समापन हुन्छ ।

यसैबीच छठ पर्वका व्रतालुका लागि छठको घाट सजाउन तराईका स्थानीय जोडतोडका साथ लागेका छन् ।

विभिन्न खोलानाला, जलाशय र पोखरीको किनारमा गरिने छठको अनुष्ठानका लागि बाराका पोखरी र खोलानालाहरू सजाउने काम भइरहेको छ । छठ पूजा व्यवस्थापनको जिम्मेवारी पाएका व्यवस्थापन समितिका सदस्य तथा स्थानीय मिलेर अहिले सरसफाइ र साजसज्जाको काम गरिरहेका छन् ।

पूर्वी तराईका झापा, मोरङ र सुनसरीका विभिन्न नदी, पोखरी तथा तलाहरूमा घाटहरूको सरसफाइ तथा सजावटको कामलाई तीव्रता दिइएको आयोजकहरूले जनाएका छन् । सुनसरी र मोरङको सिमानास्थित बुढी खोलामा २ लाख व्रतालु पुग्ने अपेक्षामा तयारी तीव्र पारिएको छ । झन्डै एक किलोमिटर क्षेत्रफलमा ५ सयवटा पूजाघाट बनाइएको आयोजक छैठपर्व सेवा समिति इटहरीले जनाएको छ । यसमा २४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

वीरगन्जका युवाहरू पनि व्रतालुका लागि छठघाटको तयारीमा जुटेका छन् । वीरगन्जको प्रसिद्ध घडिअर्वा पोखरीसँगै जिल्लाका विभिन्न पोखरी, नदी, तलाउ र जलाशयका किनारा सिँगार्ने काममा युवाको सक्रियता बढेको छ । छठघाट सजाउने क्रममा यस वर्ष १६ लाख रुपैयाँ खर्च हुने जनाएको घडिअर्वा छठघाट पूजा व्यवस्थापन समितिले ७५ प्रतिशत काम पूरा भएको जनाएको छ ।

शुद्ध, सात्त्विक र पवित्र भई गरिने सूर्य पूजाको उपासना छठको व्रत गर्नाले आफ्ना मनोकामना पूरा हुने र सुखशान्ति आउने जनविश्वास छ।

adb bank long