nepal telicom

मन्त्री क्वार्टरमा अब न्यायाधीशले कब्जा जमाउने

काठमाडौ । पुल्चोकस्थित मन्त्री क्वार्टर अब सर्वोच्च अदालतका न्यायाधीशहरूको क्वार्टरमा बदलिने भएको छ ।

स्रोतका अनुसार न्यायाधीशको क्वार्टरका लागि मन्त्रिपरिषदबाट सहमतिसमेत आइसकेको छ । रणबहादुर बमको हत्यापछि न्यायाधीशको सुरक्षाका लागि भिन्दै क्वार्टरको माग हुँदै आएको थियो । न्यायपालिकाको विकृति एवम् विसंगति अन्त्यका लागि विभिन्न भेषधारी दलाल र विचौलिया नियन्त्रण गर्नसमेत न्यायाधीशलाई भिन्नै आवास सुविधा हुनुपर्ने प्रतिवेदनसमेत बनेको थियो ।

मन्त्रिपरिषदबाट भएको निर्णयको पत्र सर्वोच्चमा प्राप्त भइसकेको छ । अहिले प्रधानन्यायाधीश बाहेकलाईसरकारी निवास छैन । आफ्नो घर हुने न्यायाधीशले मर्मत खर्च र अन्यले भाडाको सुविधाबापत नगदमै बुझिरहेका छन् ।

‘पुल्चोकको मन्त्री निवास खाली हुनेबित्तिकै सर्वोच्चका श्रीमान्हरू त्यहाँ सर्ने तयारी छ,’ सर्वोच्च स्रोतले भन्यो, ‘शहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजनाले ललितपुरको भैंसेपाटीमा संघीय सरकारका मन्त्रीको निवासका लागि २७ वटा भवन बनाइसकेको छ । त्यहाँ मन्त्रीहरू सरेपछि पुल्चोकको क्वार्टर चाँडै खाली हुँदै छ ।’

पुल्चोकस्थित मन्त्री क्वार्टरमा १७ वटा भवन छन् । सर्वोच्च अदालतमा २१ न्यायाधीशको दरबन्दी छ । सर्वोच्च अदालतमा सबै न्यायाधीशको पदपूर्ति भएमा पुल्चोकस्थित क्वार्टरमा अझै तीन न्यायाधीशका लागि भवन पुग्ने छैन ।

यता भैंसेपाटीमा मन्त्री निवासको निर्माण सकिएर अहिले आन्तरिक सजावट र व्यवस्थापनको काम भइरहेको छ । मन्त्री क्वार्टरको विषयमा स्थानीय बासिन्दाले उठाउँदै आएका कतिपय गुनासा पनि सम्बोधन हुन बाँकी छ । दशैंसम्ममा मन्त्री क्वार्टर पूर्णरूपमा तयार हुने भनिए पनि प्राविधिक कारणले ढिला भएको छ ।

adb bank long