काठमाडौं। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले टिकटक बन्द गर्ने सरकारको निर्णयमा घुमाउरो शैलीमा खुसी व्यक्त गरेका छन् । उनले फेक आइडी हटाउन टिकटकलाई कयौँ पल्ट अनुरोध गरेको र नेपाल प्रहरीको साइबर व्यूरोलाई समेत गुहारेको स्मरण गराउँदै टिकटकलेयस्ता कुरामा ध्यान नदिएको बताएका छन् । बोलनले आफ्नो नाममा खोलिएका धेरै फेक आइडीका कारण धेरै शुभचिन्तहरुले दुःख पाउनुपरेको उल्लेख गरेका छन् ।
टिकटकका धेरै राम्रा पक्षहरु भएपनि सरकारले उचित नियमन गर्न आवश्यक रहेको उनले बताए । उनले सरकारलाई टिकटकमात्रै नभएर अन्य सामाजिक सञ्जाल पनि अनुगमन र नियमन गरी करको दायरामा ल्याउन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्ः
टिकटक लाई कयौँ पल्ट फेक आइडी हटाउन अनुरोध गर्यौ , नेपाल प्रहरी साइबर क्राइम गुहार्यौ , नेपाल दूर सञ्चार प्राधिकरण नि गुहार्यौ । सबैले प्रयास गर्दा पनि टिकटकले यस्ता कुरामा ध्यान नदिएको अवस्था थियो , यसले गर्दा मेरो ब्यक्तीगतरुपमा धेरै नै फेक आईडिले गर्दा मेरो सुभचिन्तकहरु ले दुख पाउनु भएको अवस्था थियो । तर यो भन्दैमा टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन यसले धेरै विकृति ल्याएको मात्र छैन धेरै नयाँ उद्यमीहरूलाई आफ्नो बजार प्रवर्द्धन गर्ने ठाउँ भएको थियो । साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठुलो platform भएको थियो साथै नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गर्दै थियो ।
अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियममा ल्याउनु प्रयास गर्नु होला करको दायरामा ल्याएर गलत गर्ने कुरा लाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्नु होला । बन्द समाधान हैन , यो बन्दलाई टिकटक सङ नियमन गर्नलाई दरो आधार बनोस् मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् ।