काठमाडौं । इजरायल–हमासबीच जारी युद्धकै कारण विश्व शक्तिराष्ट्रहरु धुव्रिकृत हुँदा यो बिषय झनै जटिल मोडतर्फ धकेलिने संकेत देखिएको छ । युद्धविरामका लागि भुमिका निर्वाह गर्नुपर्ने ठुला शक्तिराष्ट्रहरु र नेतृत्वकर्ताबाटै युद्धलाई प्रश्रय दिने खालका अभिव्यक्ति एवम् गतिविधि भइरहेका छन् । जसकारण अहिलेको द्धन्द्धले थप उग्र रुप लिने र यसैले विश्वलाई नै प्रभावित पार्ने आकलन गर्न थालिएको छ ।
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले हालै सार्वजनीक गरेको तथ्याङ्क अनुसार गाजामा इजरायलको आक्रमणबाट ६ हजार ५ सय भन्दा बढीको मृत्यु भएको उल्लेख छ । त्यसमा बालबालिका मात्रै २ हजार ७ सय बढी रहेका छन् । तर,प्यालेस्टाइनले सार्वजनीक गरेको उक्त तथ्याङ्क मान्न इजरायल मात्रै होइन अमेरिका पनि तयार छैन् । बुधबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकि राष्ट्रपति जो बाइडेनले इजरायलको आक्रमणबाट मृत्यु भएका भनेर प्यालेस्टाइनीहरुले सार्वजनिक गरेको संख्यामा आफुलाई विश्वास नलागेको अभिव्यक्ति दिए ।
राष्ट्रपति बाइडेनले भनेका छन्, ‘प्यालेस्टिनीहरुले कति मानिसहरु मारिएका छन् भन्नेबारे सत्य बोलिरहेका छन् भन्ने मलाई कुनै विश्वास छैन् । म निश्चिन्त छु कि निर्दोषहरु मारिएका छन्, तर यो युद्ध लड्नुको परिणाम हो’ । इजरायल–हमास युद्धलाई रोक्ने आधारको खोजि भइरहेका बेला अमेरिकि राष्ट्रपति बाइडेनको यो अभिव्यक्तिले युद्धमा फेरी नयाँ आयाम थपेको छ । इजरायल–हमास युद्धलाई लिएर विश्वसमुदाय दुई धुव्रमा विभाजित भएका बेला बाइडेनले दिएको उक्त अभिव्यक्तिले युद्धलाई झनै प्रश्य दिएको धेरैको बुझाई छ ।
राष्ट्रपति बाइडेनको उक्त टिप्पणीमाथि काउन्सिल अन अमेरिकन–इस्लामिक रिलेसन (सीएआइआर) ले असन्तुष्टि व्यक्त गरेको छ । राष्ट्रपति बाइडेनको उक्त अभिव्यक्ति युद्धलाई विचलित बनाउने खालको भएको भन्दै बाइडेनलाई माफि माग्न आग्रह समेत गरेको छ । सीएआइएआरका कार्यकारी निर्देशक निहाद अवदले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘हताहत हुनेको संख्याको पुष्टि भइसकेको छ । गाजाबाट हरेक दिन आउने अनगिन्ती भिडियोहरूले प्यालेस्टिनी महिला र बालबालिकाको क्षतविक्षत शवहरूले पनि यस घटनाको वास्तविकता के हो भन्ने देखाउँछ’ ।
इजरायल हमास युद्धलाई लिएर विश्व समुदायनै दुई धुव्रमा विभाजित बन्दै गएका छन् । जसले गर्दा पछिल्लो समय यो बिषय दुई देश वा समुदायको मात्रै नभई विश्वकै मुद्दा बनिसकेको छ । यस्तोमा युद्धविरामका लागि अग्रसर हुनपर्ने देशहरुनै दुई धुव्रमा विभाजित बनिदिँदा बिषय झनै जिटल मोडतर्फ धकेलिएको छ । युद्धलाई शान्तिको बाटोमा ल्याउन भुमिका निर्वाह गर्नुपर्ने शक्तिराष्ट्र र तिनका नेतृत्वले दिने यस्तो विवादीत अभिव्यक्ति इजरालय–हमास युद्धलाई तेस्रो विश्वयुद्धको बाटोमा धकेल्ने हतियार त बन्दैन् ? चिन्ता बढ्न थालेको छ ।