इजरायल-हमास युद्धमा मृत्यु हुनेको संख्या ६ हजार पुग्यो

काठमाडौं । १८ दिनदेखि जारी इजरायल–हमास युद्धमा मृत्यु हुनेको संख्या साढे ६ हजार पुगेको छ ।

इजरायली आक्रमणबाट गाजा र वेस्ट बैंकमा ५ हजार १ सय ८२ प्यालेस्टिनी मारिएका छन् जसमध्ये बालबालिकाको संख्या २ हजारभन्दा बढी छ । यस्तै प्यालेस्टाइनमा १५ हजारभन्दा बढी घाइते भएका छन् ।

इजरायली हमला र गाजामा लगाएको प्रतिबन्धको आलोचना भइरहे पनि इजरायली सेनाले अर्को चरणको हमला गर्न तयार रहेको जनाएको छ ।

आजै इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले फेरि हमला गर्न सेना तम्तयार र दृढ रहेको उल्लेख गर्दै राजनीतिक निर्देशनको पर्खाइमा रहेको बताएका छन् । पत्रकारसँग बोल्दै उनले हमासले बन्दी बनाएकाहरुलाई मुक्त गर्न इजिप्टले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताए ।

गएराति हमासले बन्दी बनाएका २ सयमध्ये दुई इजरायलीलाई मुक्त गरेको थियो । मुक्त भएकी एक ८५ वर्षीया योचेभेड लिफसिट्जले हमासले दिएको चेतावनीलाई इजरायली सेनाले हल्का रुपमा लिएको हुँदा अहिलेको स्थिति आएको बताएकी थिइन् ।

हमासले ७ अक्टोबरको हमलाभन्दा ३ साताअघिदेखि नै दैनिक रुपमा आगजनी गर्ने र बेलुन उडाउनेजस्ता क्रियाकलाप गर्ने गरेको उनको भनाइ थियो । हमासले बन्दीहरुलाई आफूहरु कुरानमा विश्वास गर्ने भएकाले कसैलाई पनि हानी नगर्ने मा विश्वस्त पारेका थिए । लिफसिट्जले हमासका सुरुङहरु माकुराको जालोजस्तो रहेको प्रतिकृया पनि दिएकी थिइन् ।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासविरुद्धको युद्ध लामो हुने बताएका छन् । जेरुसलेममा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंसँगको पत्रकार सम्मेलनमा नेतन्याहुले हमासलाई हराउन नसके सबैको हार हुने पनि बताए ।

फ्रान्सका राष्ट्रपति म्याक्रोंले आतंकवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्यका लागि आह्वान गरेका थिए । उता इजरायल र हमासबीच मध्यस्थताको पहल गरिरहेका कतारका अमीर सेख तमीम बिन हमाद अल थानीले इजरायली आक्रमण तत्काल रोकिनु पर्ने बताएका छन् ।

इजरायल र हमासबीचको युद्धले आफ्नो क्षेत्रको सुरक्षालाई नै जोखिमा पुर्याएको उनको भनाइ छ ।

adb bank long