nepal telicom

शीर्ष नेताको दशैं : कसरी मनाउँदैछन् ?

काठमाडौं । विजया दशमीको अवसरमा मंगलबार टीका तथा जमरा ग्रहण गरिँदैछ। मंगलबार विहान ११ बजेर २ मिनेटमा उत्तर साइत रहेको पञ्चांग निर्णायक सिमितिले जनाएको छ।

दशैं मनाउन सर्वसाधारण आफ्नो जन्म थलो फर्किइसकेका छन्।
यतिखेर सबैतिर दसैँको रमझम छ । संघीय राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा रहेका सर्वसाधारण थातथलो फर्किने क्रम जारी नै छ । मान्यजनको हातबाट टीका र जमरा लाउन नेतादेखि सर्वसाधारण आफ्नो घरमा जम्मा हुने गर्दछन् ।

प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिवालयका अनुसार तीन महिनाअघि पत्नी सीता दाहालको निधन भएका कारण यस पटक प्रधानमन्त्रीको परिवारमा दसैँ छैन ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द अचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले यसपटक पारिवारिक भेटघाटमात्र गर्नेछन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसपाली विजयादशमीको टीका लगाउने छैनन् । ठूलीआमाको यसैवर्ष निधन भएकाले ओलीको परिवारमा टीकाटालो नहुने सचिवालयले जनाएको छ । आफूले टीका नलगाउने भएपछि उनले कार्यकर्तालाई पनि टीका लगाउने छैनन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृहजिल्ला रौतहट पुगेका छन् । फूलपातीकै दिन रौतहट पुगेका नेपाल महानवमीको दिन काठमाडौं फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ । सात महिनाअघि नेता नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएका कारण नेपालले यस पटक टीका लगाउने छैनन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन दसैँ घरमै मनाउनका लागि घटस्थापनाकै दिन झापा पुगिसकेका छन् । उनले यस वर्षको दसैँ झापाको हल्दिबारी १ मा रहेको आफ्नै घरमा बसेर आफ्नो बुवाको हातबाट टीका लगाउने लिङदेनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौंमै बसेर दसैँ मनाउने कार्यतालिका रहेको सचिवालयले जनाएको छ । पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी स्वकीय संयोजक प्रतिभा रावलका अनुसार पार्टीका कार्यक्रम फूलपातीदेखि १० गतेसम्म रोकिएका कारण सभापति १० गतेसम्म काठमाडौं उपत्यकामा नै रहनेछन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले भने यो वर्ष आफ्नै निवासमा दशैंको टीका लगाउने भएका छन्। देउवाले यो वर्ष काठमाडौंमा नै दशैं मनाउने उनको सचिवालयले जनाएको छ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल र पूर्व राजा ज्ञानेन्द्र शाहले भने सर्वसाधारणलाई पनि टीका लगाइ दिने भएका छन्।

राष्ट्रपति पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट टीका लगाएपछि सर्वसाधारणलाई टिका लगाइ दिने भएका हुन्।

यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइ दिने कार्यक्रम रहेको पूर्वराजाको सचिवालयले जनाएको छ

adb bank long