काठमाडौ । पछिल्ला वर्षमा नेपालमा पहिलेको दाँजोमा उपभोग्य मासुको उत्पादन र खपत बढ्दै गएको अधिकारी तथा व्यवसायीले बताएका छन्।
उनीहरूका भनाइमा पछिल्लो समयमा औसत नेपालीहरूको आयमा देखिएको वृद्धिसँगै मासुको उपभोग पनि निकै बढेको हो।
अन्य पशुपन्छीको तुलनामा कुखुराको मासुको खपत निकै बढेको उनीहरू बताउँछन्।
पोषणविद्का भनाइमा नेपालीको प्रोटिनको मुख्य स्रोतको रूपमा मासु रहँदै आएको छ।
कुखुराको मासु तथा अण्डाका लागि नेपाल लगभग आत्मनिर्भर भए पनि केही मात्रामा मासु आयात पनि हुने गरेको सरकारी विवरणले देखाउँछन्।
नेपालीहरूको आयस्तर बढेसँगै मासुको माग र खपत ह्वात्तै बढेको जानकारहरू बताउँछन्।
पहिले क्रयशक्ति कम हुँदा नेपालीहरूले विशेष दिनहरूमा मात्र मासु खाने गरेकामा अहिले आफूलाई मन लागेको बेलामा मासु खानसक्ने अवस्था बनेको देखिन्छ।
यद्यपि सहरी क्षेत्रमा त्यस्तो देखिए पनि ग्रामीण क्षेत्रमा अझै मासु खान विशेष दिन वा अवसर नै कुर्नुपर्ने अवस्था रहेको जानकारहरू बताउँछन्।
नेपालमा सबैभन्दा धेरै मासुको खपत हुने समय दशैँ-तिहारजस्ता चार्डपर्व भएको बताइन्छ।
व्यवसायीहरूले बताएअनुसार दशैँका बेला मात्रै काठमाण्डू उपत्यकामा करिब १० लाख किलो खसीको मासु खपत अनुमान छ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अध्यक्ष जङ्गबहादुर बीसीका भनाइमा नेपालमा अहिले दैनिक रूपमा करिब आठ लाख किलो कुखुराको मासु खपत हुन्छ।
त्यसमध्ये करिब पाँच लाख किलो काठमाण्डू उपत्यकामा मात्र हुने उनको भनाइ छ।
आर्थिक सर्वेक्षण २०७९/८० को विवरण अनुसार नेपालमा गत वर्ष करिब साढे तीन लाख मेट्रिक टन मासु उत्पादन भएको थियो।
यद्यपि आर्थिक वर्ष २०७८/७९ मा नेपालमा मासुको उत्पादन ५ लाख १२ हजार मेट्रिक टन भएको थियो।
हाल नेपालमा उत्पादन र खपत हुनेमध्ये सबैभन्दा धेरै मासु कुखुराको भएको पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत तथा सूचना अधिकारी डा. चन्द्र ढकालले बताए।
सरकारी विवरणहरू अनुसार करिब २० वर्षअघिसम्म नेपालमा कुखुराको भन्दा राँगा/भैँसीको मासु धेरै उत्पादन हुने गर्थ्यो।
तर नेपालमा व्यावसायिक कुखुरापालन बढेसँगै कुखुराको मासु उत्पादन ह्वात्तै बढ्न थाल्यो।
त्यसले गर्दा अहिले नेपालमा उत्पादन र खपतका हिसाबले कुखुराको मासु सबैभन्दा अगाडि देखिएको छ।
ढकालका भनाइमा अहिले नेपालमा उत्पादन हुने कुल मासुमध्ये कुखुराको ४० प्रतिशतभन्दा बढी हुने गर्छ भने राँगा/भैँसीको करिब ३७ प्रतिशत रहेको छ।
त्यस्तै खसीको १४ प्रतिशत र बङ्गुरको ७ प्रतिशत रहेको उनले जानकारी दिए।