काठमाडौँ । गएको आम निर्वाचनमा गठबन्धन गरेर जाने बिषयले नेपाली कांग्रेसभित्र ठुलै रडाको मच्चिएको थियो । माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुसँग चुनावी सहकार्य गर्ने सभापति शेरबहादुर देउवाको निर्णयमा गगन–शेखर पक्षले चर्को विरोध ग¥यो । अन्ततः २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट तर्सिएको कांग्रेस एक्लै चुनावमा होमिने आँट गरेन । गठबन्धनकै कारण कांग्रेस पहिलो पार्टी बन्यो । तर गठबन्धनका कारण कांग्रेसले क्षति ब्यहोरेको भन्दै इतर पक्षले देउवाको आलोचना गर्न भने अझै छाडेको छैन । आगामी निर्वाचनमा गठबन्धन कायम राखे पार्टी विभाजनकै अवस्थामा पुग्ने चेतावनी दिन थालेको छ ।
आफूलाई मूलधारका बताउने नेपालका ठुला भनिएका राजनीतिक दलहरु पछिल्लो समय एक्लाएक्लै चुनावमा भाग लिने हिम्मत गर्न सकिरहेका छैनन् । गठबन्धनकै आड भरोसामा मात्रै यी दलहरुको अस्तित्व बाँकी छ भन्दा फरक पर्दैन । गएको मंसिरमा सम्पन्न संघ र प्रदेशको निर्वाचनमा पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरु गठबन्धन बनाएरै चुनावी प्रतिष्पर्धामा होमिएका थिए । एक्लै ५ दलीय गठबन्धन विरुद्ध उभिएको दावी गर्ने नेकपा एमालेले पनि केही स्थानमा राप्रपा लगायतका दलहरुसँग सहकार्य गरेको थियो ।
यसरी नेपालको राजनीति गठबन्धनकै जोडबलमा अगाडी बढिरहँदा यसभित्रका विवादहरु पनि कम थिएनन् । त्यतिबेलै पनि कांग्रेसको संस्थापन इतर (गगन–शेखर) समूह माओवादीसँग चुनावी गठबन्धन गर्ने पक्षमा सकारात्मक थिएन । एक्लै चुनावमा भाग लिन यो समूहले पार्टी नेतृत्वलाई चर्कै दबाब दियो । तर देउवा डेग चलेनन् । शक्तिमा रहन चाहने बुढ्यौली उमेरका नेताहरुलाई पराजयको सबैभन्दा बढी डर थियो । कांग्रेसभित्रको असन्तुष्टि यतिबेला कोशी प्रदेशमा आएर विष्फोट भएको छ । कांग्रेस नेता शेखर कोइरालाले केन्द्रको राजनीतिक समिकरण विपरित कोशीमा विद्रोह गरेर एमालेसँग गठबन्धन गर्न पुगे र आफ्नो पक्षका केदार कार्कीलाई मुख्यमन्त्री बनाए । जुन कुराले फेरि एकपटक सत्ता गठबन्धन र कांग्रेस भित्र खैलाबैला मच्चिएको छ ।
सत्तारुढ दलका शीर्ष नेताहरुले गठबन्धनलाई बलियो बनाएर अर्को निर्वाचनसम्म नै लैजाने बताइरहँदा कोशीमा फेरिएको राजनीतिकले गठबन्धनको कोर्ष नै बदलिने संकेत गरेको छ । तर, निर्वाचन अघि नै गठबन्धन गरेर जनमत कब्जा गर्ने दलहरुको चरित्रले राजनीतिप्रतिको वितृष्णा भने बढ्दै गएको छ । अघिल्लो निर्वाचनमा भएको गठबन्धनदेखि नै विरोध गर्दै आएका नेताहरुले नेतृत्वको विरोध गर्न अझै छाडेका छैनन् । बिहिबार मात्रै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ८४ मा गठबन्धन गरेर चुनाव लड्नुपर्ने स्थिती आए पार्टी फुटाउने चेनावनी नै दिएका छन् ।
यसोत, हाल नेपाली राजनीतिमा २ प्रकारको गठबन्धन अभ्यासमा छ । कुनैपनि दलको बहुमत नआए सरकार निर्माणका लागि गरिने गठबन्धन स्वभाविक पनि हो । तर, ४ वर्षपछि हुने निर्वाचनका लागि आजैबाट गठबन्धनको कसरत गर्नु भनेको अलोकतान्त्रिक अभ्यास हो । त्यसैले दलहरुले गठबन्धनको नाममा जनमतलाई बन्धक बनाउनु भन्दा आफ्नो आचारण सुधार गरि आ-आफ्नै विचार सिद्धान्त बोकर एक्ला एक्लै जनता माझ जाने आँट भने गर्नैपर्छ ।