काठमाडौँ । दशैँ सुरू भएसंगै सुनको ब्यापार समेत बढेको छ। आर्थिक मन्दी, उच्च ब्याजदर र महँगीले सुस्ताएको सुन कारोबार दशैँ सुरू भएसंगै बढेको छ । यसबाट व्यापारमा निराश भएका व्यवसायीहरूमा पनि उत्साह थपिएको छ ।
अघि पछिको सिजनको तुलनामा यसपालिको दसैँ लगायतको चाडबाडको मुखैमा कारोबार बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले बताए।
शाक्यले भने,–‘अहिले दैनिक माग पनि बढेको छ । २५–३० केजीसम्म बजार माग छ । तर, दसैँ अघिसम्म भने त्यही १५–२० केजी मात्रै थियो । अहिले बजारमा केही उत्साह देखिएको छ ।’
अब बिस्तारै कारोबार बढ्ने व्यापारीहरू बताउँछन् । दसैँ, तिहार लगायतका नजिकिएको चाडबाड तथा बिहेको सिजनले गर्दा पनि कारोबार बढ्ने उनीहरूको भनाई छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा चर्किएको द्धन्दको प्रभावका कारण लगानीकर्ताहरू सुरक्षित लगानीको रूपमा सुन तर्फ आकर्षित हुन थालेकोले सुनको माग बढ्न गएको जानकारहरू बताउँछन् । त्यसले मूल्य वृद्धिमा चाप परेको उनीहरूको तर्क छ ।