काठमाडौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ पुगेका छन् ।
श्रेष्ठले भोलि कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यतालिका छ ।
उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा गएका हुन् ।
उनलाई बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गरेका थिए।
आज उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टीको सचिवालयलय सदस्य तथा स्टेट काउन्सिलर समेत रहेका चीनको सार्वजनिक सुरक्षामन्त्री वाङका बीचमा द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुनेछ ।
उपप्रधानमन्त्री श्रेष्ठ आजै चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ त्यहाँ आयोजना हुने ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’मा समेत सहभागी हुनेछन् ।चीनमा रहँदा उनले प्रकोप जोखिम अवलोकन तथा पूर्वसूचना केन्द्र र आपत्कालीन ‘कमाण्ड सेन्टर’को समेत अवलोकन गर्ने कार्यक्रम छ ।