को हुन् ,एमाले मधेश प्रदेशका सर्वसम्मत अध्यक्ष मण्डल ?

Telecom

जनकपुर । चार दिनसम्म जनकपुरमा चलेको एमालेको प्रथम अधिवेशनले मण्डलको अध्यक्षतामा सर्वसम्मत रुपमा दुई सय ३५ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ।

पछिल्लो स्थानीय तहको निर्वाचन (०७९)मा गाउँपालिका अध्यक्षमा पराजित भएका सिरहाका चण्डेश्वर मण्डल एमालेको मधेश प्रदेश कमिटीको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।

सिरहाको अर्नमा निवासी मण्डल एमाले सिरहाका निवर्तमान अध्यक्षसमेत हुन्। मण्डल पार्टीको लो प्रोफाइलमा बस्न रुचाउने नेताको रुपमा चिनिन्छन्।

०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी एमालेको तर्फबाट अर्नमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार थिए। निर्वाचनमा उनी जसपाका उम्मेदवारसँग पराजित बनेका थिए।

त्यतिबेला अर्नमा गाउँपालिकाको अध्यक्षमा विजयी हुने जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोककुमार यादवले ३ हजार २ सय ३३ मत प्राप्त गर्दा मण्डलले २ हजार ८ सय १० मत प्राप्त गरेका थिए।

५ वडा रहेको अर्नामा गाउँपालिकामा जसपा र एमाले २/२ वडा जितेका थिए भने माओवादी केन्द्रले एउटा वडा जितेको थियो।

सिरहा निवासी एमालेका पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठको जोडवलमा मण्डल एमाले मधेश प्रदेशको अध्यक्ष बन्न सफल भएको चर्चा एमालेभित्र छ।

‘मण्डललाई एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले पनि समर्थन गरेपछि उनी अध्यक्ष बन्न सफल भएका हुन्,’ एमालेका एक नेताले भने।

पार्टीका आन्तरिक कार्यक्रम बाहेक जिल्लाका सार्वजनिक कार्यक्रममा पनि त्यति नदेखिने मण्डल एमालेको लो प्रोफाइलमा बस्न रुचाउने नेताको रुपमा परिचित छन्।

पाको उमेरका मण्डल पञ्चायतकालदेखि नै एमालेको राजनीतिमा क्रियाशील थिए। पञ्चायतकालमा उनले सिरहामा भूमिगत भएर पनि पार्टी काम गरेका थिए।

adb bank long