विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरूको आज सनाखत गरिरहेका छन् । मुख्यमन्त्रीमा दावी गरेका कांग्रेस सांसद केदार कार्कीलाई ब्याक गराउन र कार्कीलाई समर्थन गरेका सांसदहरुलाई समर्थन फिर्ता गराउन प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा लागायतका केही ब्याक्तीले रातभर चलखेल गरेको बताइन्छ । तर उनीहरु सफल हुन सकेनन् । प्रधानमन्त्री प्रचण्ड र देउवाले सांसदहरुलाई दवावसहित अनेक प्रलोभन दिएका खबर बाहिरिएका छन् । विभिन्न मान्छे लगाएर , नातापाता जोडेर मन्त्री बनाउने सम्मका अफर आए , एक सांसदले भने – विभिन्न डर धम्की दिने काम पनि भयो । सत्ता र पदको दुरुपयोग गरियो ।
मुख्यमन्त्रीका लागि प्रदेशसभाका ४७/४७ सदस्यको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुख खापुङले सनाखत गर्न लागेका हुन् ।
दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका सांसदहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ प्रदेश प्रमुखको कार्यालयको सभा हलमा तोकिएको समयमा उपस्थित हुन विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।
मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेस गरेपछि प्रदेश प्रमुखले हस्ताक्षर सनाखत गर्ने निर्णय लिएका हुन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुख खापुङले हिजो साँझ पाँच बजेसम्ममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।
यसैबीच शुक्रबार केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ प्रदेशसभा सदस्य प्रदेश प्रमुख खापुङको कार्यालयमा पुगेर दबाब दिएका थिए ।