काठमाडौं । कोसी प्रदेशमा मुख्यमन्त्री विवाद चर्किरहेका बेला शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहको मञ्चमा तीन पूर्वमहामन्त्री एकैसाथ देखिए । यो दृश्य देखेपछि सहभागीहरुबीच खासखुस चल्यो , कांग्रेसमा नयाँ गुट जन्मिएछ क्यारे । अझ त्यसमाथि पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देखा परेपछि थप चर्चाको बिषय बन्न पुग्यो ।
कांग्रेसभित्र जटिल परिस्थिति हुँदै हालका महामन्त्री छल्दै पूर्व तीन महामन्त्री, देउवा पत्नी राणालाई एकै मञ्चमा राखिएपछि कांग्रेसजनमै प्रश्न उब्जियो– ‘यसबाट के सन्देश दिन खोजिएको हो ?’
कार्यक्रम संयोजक वाग्मती प्रदेश महामन्त्री राजु श्रेष्ठ थिए । उनी कार्यक्रमलाई गुटीय राजनीति भन्दा माथि उठेर पार्टीको आन्तरिक एकताको अभियानको रूपमा बुझ्नुपर्ने बताउँछन् ।
तर, उनी यो फुटको अभियान नभई जुटको अभियान हुने दाबी गर्छन् । “१५औँ महाधिवशेन आउन समय छ । कांग्रेस विषम परिस्थितिमा छ । आन्तरिक एकता कमजोर भएको छ,” उनले भने ।
पद र शक्तिमा रहँदा पूर्व तीन महामन्त्रीले राष्ट्र र पार्टीलाई योगदान गरेका कारण उनीहरूले पुनःशक्तिमा आउनुपर्ने र छुट्टै गुट चलाउनुपर्ने माग बढिरहेको छ ।
“उहाँहरू मिलेर जानुभयो राम्रो हुन्छ । छुट्टाछुट्टै गुटीय दोकान खोलेर केही हुँदैन । फुटेर हैन जुटेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिन खोजिएको हो,” श्रेष्ठको दाबी छ ।
त्यसरी कार्यक्रम गर्ने आयोजक चाहिँ काठमाडौं–६ नम्बर क्षेत्रीय समिति थियो । कार्यक्रमको नाम दिइएको थियो– ‘विचार गोष्ठी’ ।
वक्तामा पूर्वमहामन्त्रीत्रय प्रकाशमान सिंह, डा. शशांक कोइराला र कृष्ण सिटौला थिए । देउवा पत्नीलाई मञ्चमा राख्नुको कारणबारे कार्यकर्ताबीच खासखुस चलेको थियो, ‘‘भावी महामन्त्रीमा ग्रुम गर्न खोजिएको हो कि ?’’
यो कार्यक्रम त्यतिबेला आयोजना भयो, जतिबेला कोसी प्रदेशमा सरकार बनाउने विषयमा कांग्रेस दुई ध्रुवमा बाँडिएको छ । पार्टी विभाजनस्तरमै पुगेर गतिविधि र बहस भएका छन् । संस्थापन समूह र शेखर कोइराला समूहबीच राम्रैसँग विवाद चलिरहेको छ । अर्थात् ‘कांग्रेस एक ढिक्का नभएको’ सन्देश यो प्रकरणले दिएको छ ।
कार्यक्रम संयोजक वाग्मती प्रदेश महामन्त्री राजु श्रेष्ठ थिए । उनी कार्यक्रमलाई गुटीय राजनीति भन्दा माथि उठेर पार्टीको आन्तरिक एकताको अभियानको रूपमा बुझ्नुपर्ने बताउँछन् ।