काठमाडौ । गएको महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित डा.शेखर कोइरालको कोशी बिद्रोहले नेपालको राजनीतिमा ८ रेक्टरको भुकम्प ल्याईदिएको छ । कोइरालाले यो तहको बिद्रोह गर्लान् भन्ने अनुमान न त कांग्रेस सभापति शेरबहादुर देउवाको नै थियो न गठबन्धनका नेताहरूले नै । न त एमाले नै ढुक्क थियो । कोइरालाको यो कोशी बिद्रोहले केन्द्रमा समेत अप्ठ्यारो उत्पन्न गरेको छ । र, प्रचण्ड नेतृत्वको गठबन्धनको सरकार ढल्न सक्ने अनुमान पनि राजनीतिक बृत्तमा चर्चा छ ।
कोइराला कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसबाट कार्कीलाई बनाउनुपर्ने भन्ने अडानमा थिए । कांग्रेसबाट दुई-दुई पटक मुख्यमन्त्री बने पनि संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत पाउन नसकेकाले उनको विकल्प खोज्नुपर्ने पक्षमा थिए । पार्टीभित्र सहमति नभए एमालेको साथ लिनेमा कोइराला पूर्वतयारीमा थिए ।
एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर संवादमा रहेका कोइरालाले त्यही बलमा प्रधानमन्त्री प्रचण्डको पनि चर्को आलोचना गरिरहेका थिए । त्यसले देउवासँग दूरी बढाइरहेको थियो । कोइरालाले केदार नभए अमृत अर्याल वा हिमाल कार्कीमध्ये एक जनालाई भए पनि मुख्यमन्त्री बनाउनुपर्ने बताइरहेका थिए ।
सभापति शेरबहादुर देउवा भने संसदीय दलको नेता भएकाले उद्धवको विकल्पमा अरुलाई मुख्यमन्त्री बनाउन नसकिने अडानमा थिए। कांग्रेसभित्र कोशीको मुख्यमन्त्रीलाई लिएर विवाद बढ्न थालेपछि कार्की र अर्यालकाे सट्टा माओवादी केन्द्रलाई नै सरकारको नेतृत्व दिन देउवा तयार भए । कोइरालाको प्रयासमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू कृष्ण सिटौला र ज्ञानेन्द्र कार्की बाधक बने ।
विश्लेषकको बुझाइमा काेशीकाे अहिलेकाे निर्णयबाट कोइरालाले सभापति देउवासँग संघर्षको रणनीति लिएको देखिन्छ । उनीहरूका अनुसार कांग्रेसको संघ र प्रदेश तहको नेतृत्वको असफलता हो । विश्लेषक गेजा शर्मा वाग्लेको विश्लेषणमा कांग्रेसको केन्द्र र प्रदेशको नेतृत्वले समेट्न र समाधान गर्न नसक्नुको परिणाम हो र त्यसले नेतृत्वको असफलता पुष्टि गर्छ ।
संस्थापन इतरका एक नेताका अनुसार कोशीमा कोइरालाले विद्रोह गर्ने परिस्थिति संस्थापन पक्षले नै सिर्जना गरेको छ । सभापति देउवाले कोइरालालाई पार्टी सत्तादेखि राज्यसत्ता हरेक संरचनामा हेपेका थिए । देउवा आफैँले विगतमा ४० प्रतिशत हिस्सा दाबी गर्थे तर सभापति देउवाले कोइरालालाई भने नेताको रूपमा समेत स्वीकार गरेनन् । सत्तामा साझेदारीमा कोइरालालाई निरन्तर बाइपास गरियो । त्यसको सुरुवात महाधिवेशन सकिएलगत्तैबाट सुरु भएको थियो ।
चौतर्फी घेरामा परेपछि शेखरले कोशीमा कार्कीलाई उम्मेदवार बनाउन बाध्य भएको इतर समूहका नेता रामनाथ अधिकारी बताउँछन् । अधिकारी भन्छन् , ‘बिरालोलाई थुनेर मार्न खोज्छ भने बिरालोले पनि आक्रमण गर्छ । पार्टी एक बनाएर लैजान हामी सहयोग गर्न तयार छौँ भन्दाभन्दै गठबन्धनका नाममा कोशीको मुख्यमन्त्री माओवादीलाई दिने निर्णय सरासर गलत थियो ।’
राजनीतिशास्त्री कृष्ण पोखरेल पनि अधिकारीको भनाइमा असहमत देखिँदैनन् । संस्थापन पक्षको पेलानको परिणाम कोशीमा देखिएको उनको विश्लेषण छ । खासमा कोइरालाले पहिलादेखि नै कोशीमा मुख्यमन्त्री दाबी गरिरहेका थिए । गृहप्रदेशमा आफ्नो प्रभावको अर्थपूर्ण उपस्थितिका लागि कोइरालाको दाबी अस्वाभाविक थिएन ।
कोइरालाले विद्रोह गरेर एमालेसँग मिलिहाल्छन् भन्ने अनुमान कांग्रेसको संस्थापन पक्षले गरेको देखिँदैन । असन्तुष्टिसहित पार्टी अनुशासनमा रहन्छन् भन्ने अनुमान गरेको देखिन्छ । कोइरालाको निर्णय अनुमानभन्दा बाहिर रहेको संस्थापन पक्षका नेताहरू बताउँछन् । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्कीको दाबी पेस अनुमान नगरेको निर्णय भएको बताउँछन् । न त देउवाले नै यो तहको बिद्रोह होला भन्ने सोचेका थिए ।
२५ असोजमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षरसहित कांग्रेसका केदार कार्कीले कोशीको मुख्यमन्त्रीका लागि दाबी पेस गरे । कांग्रेसको संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाको अडानमा गठबन्धनको विपक्षमा उभिएर कार्की मुख्यमन्त्रीमा दाबी पेस गर्न पुगेका थिए ।
एमालेको समर्थनमा कार्कीलाई कोइराला समूहका सांसदहरू रामबहादुर खत्री, शमशेर राई, इन्दिरा थापा, लिला कुमारी राई, गोविन्द गिरी, मानबहादुर लिम्बु र सुनिता कुमारी गुरुङले साथ दिएका छन् । उनीहरूसँगै कांग्रेसकै सांसद हिमाल कार्की पनि साथ दिनेमा थपिएका छन् । कार्की अपराह्नको उडानमार्फत काठमाडौंबाट विराटनगर पुगेका थिए । उनी विराटनगर पुग्नुअघि नै हस्ताक्षर तयार भएको थियो । कार्कीलाई शेखरको सन्देश थियो, ‘एमालेको समर्थन लिएर सरकार बनाउनुपर्छ । केन्द्रबाट सहमति भएन ।’
प्रदेश सांसदको विद्रोह कांग्रेस इतर समूहका नेता डा. कोइरालाको विद्रोह थियो । तर यो प्रकरणमा महामन्त्री गगन थापा मौन बस्नुलाई रहस्यको बिषय मानिएको छ । शेखर पक्षकै गगनले शेखरलाई साथ नदिनु र गगन निकट कोशीका सांसदले साथ नदिनु आश्चर्यजनक भएको एक नेताको टिप्पणी छ ।