विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीबारे प्रदेश प्रमुख परशुराम खापुङले आज निर्णय गर्दैछन् ।
मुख्यमन्त्रीमा दुईजनाले दाबी पेश गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङ्गले कानूनी परामर्शका आधारमा निर्णय लिने जनाएका छन् । संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्रीको दाबी पेश गर्न उनले दिएको समय सीमा आज साँझ ५ बजेबाट सकिँदैछ ।
सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनले कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् ।
तर, गठबन्धनका शीर्ष नेताको निर्णयप्रति असन्तुष्टि जनाउँदै कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग समीकरण गरेको छ । नेपाली कांग्रेसका केदार कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरेका छन् ।
कार्कीले आफूसहित कांग्रेसका ९ प्रदेशसभा सदस्य र एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङले पनि छलफल गरेरै निर्णय गर्ने दाबी पेस गरेका कार्कीसहितको टोलीलाई भनेका छन् । आआफ्नै तरिकाले मुख्यमन्त्रीमा दाबी गर्न आएका दुई नेताहरूले आफूसँग मुख्यमन्त्री बन्ने आधार रहेको प्रतिक्रिया दिएका थिए । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि २६ गते बेलुका ५ बजेसम्मका लागि समय तोकिएको छ ।
दुवै पक्षले ४७–४७ सांसदको हस्ताक्षर देखाएका छन् । जसमा ८ जना कांग्रेस सांसदको हस्ताक्षर दुवैतिर छ । कार्की समूहले कांग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गर्न वा उपस्थिति हेरेर आवश्यक निर्णय लिन प्रदेश प्रमुखलाई आग्रह गरेको छ ।त्यसैले, अब मुख्यमन्त्री कसलाई बनाउने प्रदेश प्रमुखको जिम्मा पुगेको छ ।